News 24 Television
एकताको ग्राउण्डबाट विप्लव : किन उपचुनावमा गएनन् ?

काठमाडौं । नेकपाको नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ । उपचुनावमा सहभागी नहुने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भने सहभागी हुने निर्णय गरिसकेको छ । तर, किन विप्लव उपचुनावमा जानबाट हच्किए ?

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव नेतृत्वको नेकपा कृषि र उत्पादनमा जोडिएको छ । देशभरका विभिन्न जिल्लामा धान खेतिदेखि अनेक उत्पादनमा विप्लवले पार्टीलाई जोडेका छन् । उनीहरुले आलु उत्पादनदेखि कागती हुँदै विभिन्न कृिष सामाग्री उत्पादनमा जोड दिइरहेका छन भने कपिलवस्तुमा स्विमिङ पुल समेत बनाइरहेका छन् । 

उत्पादन र आर्थिक समृद्धिको बाटोमा जानुपर्ने मतसहित राष्ट्रलाई नै सन्देश दिन खोजेका विप्लव उपचुनावमा भने सहभागी नहुने भएका छन् । 

०८४ मा हुने निर्वाचनमा सहभागी हुने निर्णय अहिले नै गरेपनि किन उनी उपचुनावमा जानबाट हच्किए ? अनेक आशंका गरिएका छन् । तर, उपचुनाव हुने क्षेत्र विप्लवको पकड क्षेत्र पनि नभएकाले उनीहरु आफ्नो शक्ति परीक्षण कमजोर स्थानबाट गर्न डराएको अर्थमा समेत कतिपयले लिएका छन् ।

उपचुनावमा के गर्लान विप्लव ?

विप्लव नेतृत्वको नेकपाले उपचुनावमा समाजवादी मोर्चामा रहेका दलका उम्मेदवार, वामपन्थी र प्रगतिशिललाई सघाउने भनेको छ । यसको सीधा अर्थ विप्लव नेतृत्वको नेकपाले माओवादी केन्द्रका उम्मेदवारलाई नै सघाउने प्रष्ट देखिन्छ । 

समाजवादी मोर्चाले नै उम्मेदवार खडा गर्ने स्थिति बनिनसकेकाले पनि विप्लवले स्वभाविक रुपले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने देखिन्छ । 

एकताको माहोल निर्माण

उपचुनावमा पार्टीलाई नलैजानुको अर्को अर्थ एकता रहेको बताइन्छ । माओवादी केन्द्रसहित अन्य वामपन्थी दलहरुसँग एकता गर्ने माहोल निर्माण गर्ने र माओवादी केन्द्रको अब बस्ने केन्द्रिय समितिलाई समाजवादी कार्यक्रममा जाने गरि पार्टीको कार्यदिशा निर्माणमा दबाब दिनलाई उपचुनावको ग्राउण्डमा आफ्नो पक्षमा रहेको मत सहयोगमा केन्द्रित गर्नु विप्लवको रणनीति देखिन्छ । 

माओवादी केन्द्रले पार्टी एकताको निर्णय र पार्टीको कार्यक्रममा समाजवादको बाटो समात्ने प्रष्ट आधार नदेखाएको भन्दै केहिले आलोचना समेत गरिरहेका छन् । यस्तोमा पार्टी एकता सहज नहुने भन्दै प्रचण्ड पनि समाजवादी कार्यक्रम ल्याउने तयारीमा छन् । 

यसरी पार्टी एकताको माहोल निर्माण गर्दै जानलाई पनि उपचुनावमा कमजोर रहेको पार्टीलाई परीक्षणमा लगेर थप क्षति ब्यहोर्नुको सट्टा अरुलाई सघाउदा नै लाभ हुने विश्लेषण विप्लव नेकपाको देखिन्छ । जुन विषयमा उनले सोच विचार पु¥याएरै कदम चालेको बताइन्छ ।

माहोल खडा गर्दै विप्लव

मुलुक कृषिमा परनिर्भरमात्रै बनिरहेको छैन्, कृषिजन्य सामाग्री आयातमै ठूलो धनराशी खर्चिनेमा पर्छ । मुलुकले ठूलो धनराशी खर्चिने गरेको कृषि क्षेत्रलाई सानो योगदान र सन्देश दिन सकेमात्रै पनि जनताको साथ पाइन्छ भन्ने बुझेका विप्लवले कृषि कर्म गरेर वाहवाही कमाइरहेका छन् । 

विप्लवले पार्टीका कार्यक्रममा समेत आफैले उत्पादन गरेको कृषि उपजको प्रयोग गरिरहेका छन भने सहुलियतपूर्ण ढंगले जनतालाई कृषि उत्पादन बेच्ने बताइरहेका छन् । धानपछि उनीहरु आलु खेति गर्ने बताइरहेका छन् ।

जुन विषयले जनताले विप्लवको रचनात्मक कर्मलाई साथ दिने स्थिति बन्दै गएको छ । पार्टीका नेता कार्यकर्तालाई चन्दा, धन्दा र अशुलीमा उतार्नुको सट्टा आत्मनिर्भरतातर्फ लैजाने गरि कृषिमा जोड्ने विप्लवको यो कददम लामो समयसम्म जाने र कृषि उत्पादनमा योगदान नै दिने स्थिति बनेमा जनताको समर्थन पाउने स्थिति बन्न सक्छ । 

पीडा र आक्रोशमा रहेका जनतालाई विप्लवको यस्तो कर्मले सकारात्मक बनाउदै लगेको छ भने कृषिमा भविष्य देखाउन समेत यो विषयले प्रोत्साहन गर्नेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update