News 24 Television
रविलाई हिरासतमा राख्न तेस्रोपटक थपियो १० दिनको म्याद  

पोखरा । सहकारी ठगी प्रकरणमा अनुसन्धानमा तानिएका रास्वपा सभापति एवं  पुर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । 

कार्तिक २ गते पक्राउ परेर हिरासतमा राखिएका लामिछानेको तेस्रोपटक म्याद थप गरिएको हो । मंगलबार म्याद थपका लागि कास्की प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 

दोस्रोपटक थपिएको म्याद यही कार्तिक १४ गते सकिएको थियो । तर तिहारको बिदा परेकाले लामिछानेलाई आज मात्रै अदालतमा उपस्थित गराइएको हो । सो क्रममा सरकारी वकिल कार्यालय, कास्कीले लामिछानेलाई २५ दिनको म्याद थप गर्न अनुमति मागेको थियो । तर जिल्ला अदालतले १० दिन मात्र थप्न अनुमति दिएको छ । 

थपिएको १० दिनको गणना १४ गतेदेखि नै हुने भएकाले अब लामिछाने थप ४ दिन मात्र हिरासतमा बस्नेछन् । किनकि तिहार बिदाका बीच उनी ६ दिन त्यतिकै हिरासत बसिसकेका छन् । अब कार्तिक २४ गते पुनः उनको म्याद थप गर्ने या नगर्ने भन्नेबारे कास्की प्रहरी तथा सरकारी जिल्ला वकिलको कार्यालयले निर्णय गरेर अदालतसामु उपस्थित गराउनेछन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update