काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । कार्तिक २ गते पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार बिहान अदालत खुलेसँगै उपस्थित गराइएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि पुनः हिरासतमा राख्ने म्याद थप्नका लागि प्रहरीले लामिछानेलाई अदालत लगेको हो । उनको पक्ष र विपक्षमा कानुन व्यवसायीले बहस गरेपछि म्याद थप्ने या धरौटीमा छाड्ने भन्नेबारे आजै जिल्ला अदालतले फैसला दिने बताइएको छ ।
यससँगै रविको रिहाइको लागि रास्वपा नेता तथा कार्यकर्ताहरुले पोखरामा विरोध प्रदर्शन जारी राखेका छन् । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारीमाथि अश्रग्यास प्रहार गरेको छ । मंगलबार बिहान रास्वपाका नेता–कार्यकर्ताहरुले पोखराको रत्न चोक हुँदै बार्इ चोकसम्म प्रदर्शन गरेका थिए । तर निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटेको हो ।