एजेन्सी । इण्डोनेसियाको पूर्वी नुसा टेङ्गारा प्रान्तमा माउण्ट लेवोतोबी नामक ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । त्यहाँकाे राष्ट्रिय विपद् व्यवस्थापन निकाय बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले दश जनाको मृत्यु भएको पुष्टि गर्दै नौ जनाको शव निकालिएको बताएका छन् । एक जना भग्नावशेषमा फसेकाे मुहारीले बताए ।
ज्वालामुखी विष्फोटले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् । जसमा सातवटा गाउँका १० हजारभन्दा बढी प्रभावित बासिन्दाहरू निकासी केन्द्रहरूमा पुगेका छन् । मुहारीले बासिन्दाहरूलाई क्रेटर वरपरको ७ किलोमिटरको खतरा क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको बताए ।
आपतकालीन राहत प्रयासलाई सहज बनाउन स्थानीय सरकारले नोभेम्बर ४ देखि डिसेम्बर ३१ सम्म आपतकालीन स्थिति घोषणा गरेको मुहारीले बताए । माउण्ट लेवोटोबी इण्डोनेसियाको १२७ सक्रिय ज्वालामुखीमध्ये एक हो ।