News 24 Television
मुगुमा २ महिना अघि नै बन्यो झोलुङ्गे पुल 

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नम्वर २ मा रहेको चैन खोलामा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसगैं ३ दर्जन गाउँमा बसोबास गर्नेहरुलाई सदरमुकाम गमगढीसम्म आवतजावतमा सहज भएको छ । 

मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नंवर २ स्थित झोलुंगे पुल सञ्चालनमा आएको छ । १ सय ४७ मीटर लम्बाइ र करिव २७ मिटर उचाइ भएको सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका वडा न १, २, ४, ५, ६, ७, ८, र १० वडाका स्थानीयलाई जिल्ला सदरमुकाम गमगढी बजारसम्म आवतजावत गर्नका लागि निकै सहज मात्रै भएको छैन, दुरी पनि छोटिएको छ । 

चैनखोलामा यो पुल नबन्दासम्म बर्खाको समय स्थानीयलाई सदरमुकामसम्म पुग्न निकै कठिनाइ थियो । पूल नभएकै कारण स्थानीयहरु किनमेल वा अन्य कामका लागि सदरमुकाम जानु परे लामो बाटो प्रयोग गर्न बाध्य थिए । पुल बनेसँगै यो समस्या हल भएको छ भने गाँउगाउँमा उत्पादन भएका तरकारी तथा अन्य सामान खरीदबिक्रिका लागि बजारसम्म पु¥याउन पनि सजिलो भएको छ । 

पुल १ करोड १० लाख १२ हजार रुपैयाँ खर्च गरेर बनाइएको हो । एकपटकमा ३ सय ५० जना पैदल यात्रुलाई धान्ने क्षमता पुलको रहेको छ । 

पुल निर्माणका लागि २०८१ वैशाख ३१ गते कर्णाली इन्फास्ट्रक्चर डेभलपमेन्ट सर्भिस प्रालिसँग सम्झौता भएको थियो । पुस महिनासम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पुल २ महिना अघि नै निर्माण कार्य पुरा भई सञ्चालनमा समेत आइसकेको हो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update