News 24 Television
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढ्दै, यस्तो छ सञ्चालन तयारी

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान थपिने भएका छन् । केहि समयभित्रै विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुले उडान शुरु गर्न लागेकाले भैरहवामा सरकारले गरेको ठूलो लगानीले प्रतिफल दिन थालेको अर्थमा समेत बुझ्न थालिएको छ । तर, उडान लामो समयसम्म हुन सक्ला ? यसमा शंका भने छ । 

२०७९ जेठ २ गते बुद्धपूर्णिमाको दिन उद्घाटन गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयर एसियापछि अन्य कम्पनीले पनि उडान गर्ने भएका छन् । भैरहवा–बैंकक–भैरहवा उडान थालेको थाइ एयर एसियासँगै जजिरा, फ्लाई दुबई लगायत विमान कम्पनीहरुले उडान गर्ने भएका हुन् । उसोतः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गरेका थिए । 

भैरहवाबाट हुने उडान उल्लेख्य नभएको र यात्रु पनि नपाउने स्थिति रहेको भन्दै नियमित उडान हुन नसकेको यो विमानस्थलमा एकैपटक धेरै विमान कम्पनीहरुले उडान थाल्दा यसको प्रभाव पर्नेमा आशा राखिएको छ । यस्तै, भैरहवा विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ । 

यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ । भैरहवाबाट अर्को अन्तराष्ट्रिय विमान कम्पनी युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन् । 

हुनत, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको उडान कटौतिले महंगिएको भाडादर समेत समायोजनमा आउने अपेक्षा गरिएको छ । अहिले नेपालबाट हुने उडानको संख्या आधा कटौति भएपछि विभिन्न गन्तव्यको भाडा ५० प्रतिशत बढिले महंगिएको गुनासो आइरहेको छ ।  

प्राधिकरणले कात्तिक ११ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका बनाएको छ । नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update