काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण तय भएको छ । ओलीले चीनको औपचारिक भ्रमण मंसिर १७ देखि २० गते सम्म गर्नेछन् । उत्तरी छिमेकमा भ्रमण गर्न लागेका ओलीले आफ्नो भ्रमणलाई उपलब्धिपूर्ण बनाउन सफल होलान् त ?
प्रधामन्त्री बनेको तीन महिना वितिसक्दा समेत छिमेकी मुलुकको भ्रमणमा ननिस्किएका प्रधानमन्त्री केपी ओलीले अहिले भने चीन भ्रमणको मिति तय गरेका छन् । ओलीले आगामी मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमण गर्ने मिति तय भएसँगै सरकारले ओलीको औपचारिक विदेश भ्रमणको तयारी तीव्र पारिरहेको छ । भारतले ओलीलाई भ्रमणको निम्तो नै नदिएको बेला उत्तरी छिमेकीले भ्रमणमा बोलाएपछि सरकारको स्थिरतासँग जोडिएका प्रश्नमा समेत अनेक आशंका भने उब्जिएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार चीनले मंसिर १७ देखि २० गतेसम्मको मिति तय गरेर भ्रमणको औपचारिक निमन्त्रणा समेत पठाएको बताइएको छ । यसको तयारी पुरा भएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै उनको भ्रमण स्वीकृत गर्नेछ ।
भारतले किन दिएन निम्तो ?
दक्षिणी छिमेकी भारतले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणा नै दिएन् । यसअघि दक्षिण एसियामा आफ्नो प्रभाव देखाउनका लागि नै भएपनि भारतले नेपालमा नयाँ प्रधानमन्त्री बनेपछि भ्रमणको निम्तो दिने गर्थ्यो । पुर्ववर्ति सरकारहरुले पनि पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै गर्ने गरेको देखिन्छ । केही समय पहिले प्रचण्डले पहिलो विदेश भ्रमण चीनबाट शुरु गरेपछि उनले अप्ठ्यारो महशुस गर्नुपरेको चर्चा चल्ने गर्छ । यसर्थ प्रचण्डले भारत र चीन भ्रमणमा पहिले कुन देश गर्ने भन्ने निर्णय गर्न केहि समय लिए पनि चीन नगई उनी भारत गएका थिए । यसरी हेर्दा पनि नेपाली प्रधानमन्त्रीको रोजाईमा भारत नै पहिलो हुने गरेको देखिन्छ ।
तर, ओलीले भारतले वास्ता नगरेपछि चीन जाने तयारीलाई औपचारिकता दिएका हुन् । उसोतः भारतसँग ओलीको सम्बन्ध राम्रो हुन नसकेको र परस्पर भारतविरोधी अभिव्यक्ति दिनमा ओली अग्रसर बनेको र नेपाली जनतालाई सीमा विवाददेखि अन्य विषय उचालेर भड्काउन खोजेको आरोप भारतले लगाउने गरेको छ।
चीन भ्रमण कस्तो रहला ?
औपचारिक पहिलो विदेश भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले चीनसँग बीआरआई फ्रेमवर्कमा सम्झौता गर्ने तयारीलाई तीब्रता दिएको बताइन्छ । बीआरआईमा सकारात्मक बन्न नसकेको कांग्रेसलाई पोखरा विमानस्थललाई बीआरआई परियोजनामार्फत राखेर ऋणलाई अनुदानमा परिणत गर्दै सम्झौतालाई अन्तिम रुप दिने ओलीको तयारी छ ।
भारतले तत्कालीन समयमा लगाएको अघोषित नाकाबन्दीको बेला समेत ओलीले चीनसँग पारवहन सम्झौता गरेका थिए । त्यसको उल्लेख ओलीले पछिल्लो समय बाक्लै गर्ने गर्छन् । चीनसँगको पारवहन सम्झौतादेखि केरुङ काठमाडौं रेलमार्ग समेत प्राथमिकतामा राखेर ओलीले बीआरआई परियोजनालाई अघि बढाउने रणनीति लिएको बताइन्छ । यस्तोमा ओलीले यी दुई परियोजनालाई स्वीकृत गर्ने र थप नयाँ सम्झौता समेत गर्न सके उनको भ्रमण उपलब्धिपूर्ण हुने विज्ञहरुको टिप्पणी छ ।
तर, चीनले यति गर्न सहमति जुटाउला ? प्रश्न र आशंका भने छ । किनकी भारत चीन विवादास्पद क्षेत्रमा रहेका सेना फिर्ता बोलाउने निर्णयमा पुग्दै नयाँ साझेदारीको बाटो खोज्न लागिपरेका छन् । यस्तोमा चीनले नेपाललाई हेर्ने दृष्टीकोण कस्तो राख्छ भन्ने विषयले पनि थाहा हुने बताइन्छ ।