News 24 Television
रविको म्याद थपविरुद्ध रास्वपाले पोखरा केन्द्रित आन्दोलन गर्दै

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सभापति रवि लामिछानेको हिरासत बसाइ लम्ब्याउने सरकारी तयारीविरुद्ध पोखरा केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी प्रकरणको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई मंगलबार (कार्तिक २० गते) अदालत खुल्ने दिन म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी छ । त्यसको सशक्त विरोधका लागि पोखरा प्रदर्शन गर्ने तयारी रास्वपाको छ ।

आफ्ना सभापतिविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै आएका रास्वपा नेताहरू आन्दोलनका लागि पोखरा जाने क्रम सुरु भएको छ । आन्दोलन परिचालनको जिम्मा पाएका रास्वपाका उपसभापति डीपी अर्यालले मंगलबार पोखरामा दबाबमूलक आन्दोलन गर्ने बताएका छन् । कात्तिक २ गतेदेखि हिरासतमा राखिएका लामिछानेको रिहाइका लागि रास्वपाले कहिले काठमाडौँ त कहिले पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ । यसअघि गत मंगलबार रास्वपाले बालुवाटारमा प्रदर्शन गरेको थियो ।

यसअघि थपिएको लामिछानेको हिरासत बसाइको म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहारको बिदाका कारण अदालत बन्द भएकाले २० गते मात्रै उनलाई अदालतमा उपस्थित गराइने भएको हो । यससँगै लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा समेत उपस्थित गराउन सक्ने देखिएको छ, किनभने रुपन्देहीबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update