News 24 Television
तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरू

काठमाडाैँ । तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक शुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले वीरगञ्जसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ ।

लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् ।

बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तिब्र बनेको छ ।

पर्साको मुख्य आर्यनको केन्द्रमा रहेको घडीअर्वा पोखरी,रानीघाट र मुडी छठ को लागी दुलहीझैँ सिंगार्न शुरु गरिएको छ । चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन रही आएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update