काठमाडौं । हिन्दुहरुको दशैंपछिको दोश्रो ठुलो पर्व तिहारमा विदेशी समेत झुमेका छन् । पोखरामा रहेका विभिन्न देशका पर्यटकहरुले सामूहिक भाइटीका लगाउदै तिहार मनाएका छन् ।
हिन्दु नेपालीहरूको दोस्रो ठूलो पर्व भाइटिकाको अवसरमा विदेशी पर्यटकहरूले समेत पोखरामा भाइटिका मनाएका छन् । संस्कृति बचाऔं, पर्यटन प्रवर्धन गरौं भन्ने नाराका साथ आईतबार पर्यटकीय राजधानी पोखरामा १२ देशका ५६ जना पर्यटकहरूले सामूहिक रूपमा भाइटीका महोत्सव मनाएका हुन् ।
होटल संघ पोखरा नेपालले आयोजना गरेको १७ औं संस्करणको भाइटीका महोत्सवमा अमेरिका, जर्मन, इजरायल, वेलायत, स्पेन, रसियालगायत १२ देशका पर्यटकहरु सहभागी भई टीका लगाएका हुन् ।
पर्यटकहरुलाई रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए । नेपालको संस्कृति र नौलो अनुभव लिन पाइएको भन्दै पर्व मनाउन पाउँदा खुसी लागेको विदेशी पर्यटकहरू बताउँछन् ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धन गर्दै पर्यटन क्षेत्रमा आशा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल संघले जनाएको छ । नेपाली संस्कृतिको संरक्षण एवं संवर्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्य महोत्सवले लिएको छ ।
महोत्सवमा नेपाली परम्परा अनुसार तिहार पर्वको विधि अनुसार टिका लगाइएको थियो । पर्यटकलाई निधारमा सप्तरंगी टिकाको साथमा, सयपत्री फुलका माला, पुरुष पर्यटकहरुलाई नेपाली ढाका टोपी र भाइटीका लगाएर भाइमसला समेत प्रदान गरिएको थियो ।
नेपालको मौलिकता र संस्कृतिसँग जोडिएका यस्ता पर्वमा पर्यटकलाई जोड्न सके नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा छ ।