News 24 Television
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप 

पाल्पा । दशकौंसम्म सुनसान बनेको पाल्पाको तिनाउ गाउँपालिका–३ को बसन्तपुर डाँंडा अहिले लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । 

केबलकार बनेसँगै सुनसान गाउँमा आन्तरिक र वाह्य पर्यटकको आगमनले चहलपहल बढेको छ । सञ्चालनमा आएको १७ महिनामा लुम्बिनी केबलकारमा तीन लाख बढी पर्यटक आइसकेका छन् । वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिर समेत रहेको छ । त्यसैले बसन्तपुर अहिले भारतीय पर्यटकको समेत रोजाईमा पर्ने गरेको छ ।
.
धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बुटवल भैरहवाजस्ता बजारको कोलाहल र प्रदुषणबाट मुक्त, स्वच्छ, र शान्त वातावरणका कारण पाल्पाको तिनाउ गाउँपालिका ३ मा रहेको  बसन्तपुर डाँडो नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको छ । 

केबलकार बनेसंगै सुनसान गाँउमा आन्तरिक र वाह्य पर्यटकको आगमनले चहलपहल ह्वात्तै बढेको छ । बसन्तपुरमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ लगायत पर्यटकले रुचाउने पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुंदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ । जसले गर्दा बसन्तपुर डाँडो आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि रोजाईको केन्द्र बन्दै गएको छ ।

केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरिएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।

कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने यहाँ गरेका हुन् । 

२५ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतमले बुटवलबाट बसन्तपुर डांडो जोड्ने केबलकारको परिकल्पना गरेका थिए । उनले तेजप्रसाद तथा अन्य स्थानीय लगानीकर्तालाई समेटेर करिब सय रोपनी जग्गा खरिद गरी निर्माण प्रकृया शुरु गरेका थिए । तर आवश्यक पुंजि अपुग हुँदा डेढ दशकसम्म परियोजना अलपत्र थियो । 

५ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लियो र शुरु गरेको २ वर्षमै केबलकार सपना सार्थक भयो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन बसन्तपुर डांडोमा बनेपछि सो गाउँ आकर्षक पर्यटकीय गन्तव्य बनेको हो । 

सञ्चालनमा आएको १७ महिनामा लुम्बिनी केबलकारमा   तीन लाख बढी पर्यटक आएको कम्पनीले जनाएको छ । प्रति टिकट २ प्रतिशत रकम तिनाउ गाउँपालिका र बुटवल उपमहानगरपालिकालाई कर वापत दिएको छ । 

केबलकारले दुई वटा स्थानीय पालिकालाई असोजसम्म १५ लाख २७ हजार ४ सय ३२ रुपैयांका दरले ३० लाख ५४ हजार ८ सय ६७ रुपैयां कर तिरिसकेको छ । यसवाहेक तिनाउ गाउंँपालिकालाई मनोरन्जन कर वापत एक लाख ३ हजार ६ सय २५ रुपैयाँ समेत केबलकारले बुझाइसकेको छ । 

केबलकार बनेपछि बसन्तपुर गाउँमा पानी र यातायातको सुविधा विस्तार भएको छ । यस्तै , करिब सय जना स्थानियले रोजगारीको अवसर समेत पाएका छन् । 

स्थानियले उत्पादन गरेका कृषि उपजले सजिलै बजार पाउने गरेको छ । समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईको भूभागभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले स्थानीय पर्यटकको लागि पनि रोजाइको थलो बनेको हो । 

अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ । 

केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ । केबलकार कम्पनीले आर्थिकरुपमा सवल बन्न बसन्तपुरमा होमस्टे सञ्चालन गर्न स्थानीयलाई आग्रह समेत गरेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update