बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देही जिल्लाको ६ बिघामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको पार्टीले जनाएको छ ।
आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यअनुसार कृषि उत्पादनमा पार्टीको जिकिर छ । सामूहिक खेती सुरु गरेको पार्टीका नेता तथा कार्यकर्तालाई अहिले रुपन्देहीको सैनामैना नगरपालिका–५ गढवाको एक बिगाह जमिनमा आलु रोप्न भ्याई नभ्याई छ ।
पार्टीका रुपन्देही इन्चार्ज वसन्त सी, सचिव वीरेन्द्र सी लगायत नेता कार्यकर्ता श्रमदान गर्दै आलु रोप्न व्यस्त छन् । रुपन्देहीको सैनामैना नरपालिकाको गढवा गाउँमा जस्तै रुपन्देहीको अन्य पालिकाहरुमा समेत यस पार्टीले आलूको बिउ रोपिरहेको छ । नेकपाले रुपन्देहीमा १५ क्वीन्टल आलुको बिउ रापेको छ भने देशभर १२० क्वीन्टल बिउ रोपिने पाटीले जनाएको छ ।
रुपन्देहीका विभिन्न स्थानीय तहमा जिल्ला कमिटीले ६ बिघा जग्गामा आलु, तोरी, तरकारी, अरु नगदेबालीको खेती माछापालन गरेको छ । बुटवलको मोतीपुर, सैनामैनाको बक्सर र छपियामा बाँझो तथा उपयोगहीन जग्गामा जग्गा धनीको सहमतिमा र विद्यालयका जग्गा भाडामा लिएर खेती गरिएको हो ।
रुपन्देहीका १० वटा स्थानीय तहमा पालिका कमिटीले कम्तीमा ५ कठ्ठामा अनिवार्य कृषि उत्पादन गर्नुपर्ने नियम लागु गरेको । विप्लव नेतृत्वको नेकपा र तिनका भातृ संगठनहरु सधैं चन्दा मागेर चलेको भन्ने भाष्यलाई उत्पादन अभियानले गलत सावित गर्न खोजेको नेताहरुको भनाई छ ।
पार्टीले उत्पादन गर्ने कृषि उपजहरु पार्टीकै नेता कार्यकर्तालाई सहुलियत दरमा बिक्री गर्ने र पार्टीकै कार्यक्रमहरुमा खपत गरिने योजना पार्टीले बनाएको छ ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा श्रम संस्कृति हराउंदै गएको अवस्थामा नेकपाले श्रम संस्कृतिलाई देशव्यापी अभियान बनाएको दाबी गरिएको छ । उत्पादन अभियानमा मानवीय श्रमसँगै आधुनिक उपकरण समेत प्रयोग गरिएको छ ।
पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) स्वयम् आफैपनि हरेक दिन ४–५ घण्टा श्रम गर्ने हुँदा सिंगो पार्टीपंक्ति नै उत्साहित बनेको छ ।
नेकपाका यस्तो कृयाकलापले आम नागरिकमा पार्टीप्रति सकारात्मक धारणा बनेको दाबी पनि पार्टीका नेताहरु गर्छन् । नेपाल कृषिप्रधान मुलुक भनिएपनि जग्गा बाँझो रहने तर वर्षेनी अर्बौंको कृषि उपज विदेशबाट आयात भइरहेकाले कृषिमा आत्मनिर्भर बनाउन सामूहिक खेती अघि बढाएको नेकपाले जनाएको छ ।
नेकपाले रुपन्देहीसहित देशका विभिन्न जिल्लामा करिब ८० ठाउँमा सामूहिक खेती गरिरहेको छ भने केही ठाउँमा उद्योग पनि चलाएको छ ।
पार्टीको अहिलेसम्म सातवटा केन्द्रीय उत्पादन ब्यूरो, २२ वटा उत्पादन ब्यूरो, ४१ वटा जिल्लास्तर, ७ वटा जनवर्गीय संगठनस्तर र ३ वटा विभागस्तरका इकाइमार्फत उत्पादन भइरहेको छ ।
नेकपाले जुम्ला, कालीकोट लगायतका हिमाली जिल्लामा तीन वर्षमा १० हजार स्याउ रोप्ने अभियान पनि सुरु गरी हालसम्म एक हजार स्याउका बिरुवा रोपिसकेको छ ।