काठमाडौं । नेपालमा तीन अन्तराष्ट्रिय विमानस्थल छन् । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाहेकले बिजनेस पाउन सकेका छैनन् ।
यसरी विमानस्थल विजनेसबिहीन बन्दा एकातर्फ विमानस्थल निर्माणको औचित्यमाथि प्रश्न उठिरहेको छ भने अर्कोतर्फ सरकारको क्षमतामाथि प्रश्न उठिरहेको छ ।
यस्तोमा पोखरा र गौतमबुद्ध विमानस्थल विकल्प बन्न सक्लान ?
काठमाडौंमा अवस्थित त्रिभुन अन्तराष्ट्रिय विमानस्थलले चाप थेग्न सकेको छैन् । विमानस्थलका सामान्य समस्या आइपर्दा समेत बन्द हुने गर्छ भने पछिल्लो समय शतप्रतिशत समय चलिरहेको विमानस्थल १४ घण्टामात्र चल्ने गरि उडान कटौति हुँदा यसको प्रत्यक्ष मार यात्रुलाई परेको छ ।
यात्रुले काठमाडौं दिल्लीमा सामान्य समयमा पाइने भाडाको कयौं गुणा महंगो शुल्क तिर्नुपर्ने स्थिति आइलागेको छ । भने अधिकांश गन्तव्यको भाडा अचाक्ली महंगिएको छ । तर, काठमाडौंबाट नजिकैको दूरीमा रहेका दुई अन्तराष्ट्रिय विमानस्थल भने विजनेसबिहीन छन् । यसमा सरकारले अनेक उपाय सुझाउने भने पनि विमानस्थल अन्तराष्ट्रिय नाममा मात्रै सिमित हुने त होइनन भन्ने चिन्ता समेत उत्तिकैछ ।
सामान्यतया अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हरेक दिन बिहान ३ बजेदेखि ६ बजेसम्म मात्र बन्द हुन्छ । अधिकारीहरूका अनुसार नोभेम्बर ८ मा निर्माणका काम सुरु हुने र त्यसपछि पाँच महिनासम्म विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुनेछ । यसले उडान समय मात्रै कटौति हुने छैन्, यात्रुलाई गन्तव्यसम्म पुग्ने भाडा समेत अत्यधिक बढ्नेछ । जसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा समेत पर्नेछ ।
भैरहवा विमानस्थलमा के हुँदैछ ?
भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान भरिरहेको छ । जजिरा एयरले केहि समय उडान भरेपनि एक महिनामै बन्द ग¥यो । त्यसपछि केहिदिन पहिलेमात्रै कारबाहीमा परेको इयर एसियाले भैरहवा उडान गर्ने सर्तमा प्रतिबन्ध फुकुवा त गरेको छ तर, के भैरहवाबाट यसले नियमित उडान भर्दै सेवा दिन सक्ला ? धेरैले शंका गरिरहेका छन् ।
भैरहवा विमानस्थलमा अहिले केहि विमान कम्पनीहरुले उडानका लागि अनुमति लिने क्रम चलिरहेको र केहिले लिइसकेको बताइएको छ । तर, विमानस्थल नियमित सञ्चालन हुने स्थिति भने देखिन्न । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाप घटाउन पनि पाँच महिनासम्मको मर्मत समयलाई सरकारले महत्वका साथ लिएमा यसले धेरै राहत हुनेछ ।
भैरहवाबाट थाइल्याण्डका लागि एयर एसियाले उडान भरेपछि प्रधानमन्त्री केपी ओलीले खुशी साट्दै काम गर्दै जाने दाबी पनि गरेका छन् । तर, त्यो कति समय सम्म टिक्ला भन्ने चासो भने व्याप्त छ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल पनि उस्तै
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपनि केहि चार्टर्ड उडानबाहेक हुन सकेको छैन् । चिनियाँ ऋण अनुदानमा निर्माण भएको विमानस्थललाई बीआरआई अन्तर्गत राखेर अनुदानमा परिणत गर्ने कोसिस चलेका छन् । तर पोखरा विमानस्थलमा समेत नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन् । जसले राज्यको ठूलो लगानी खेर जाने सम्भावना बढेको छ भने अर्कोतर्फ सरकारी दुरदर्शितामाथि समेत प्रश्न उठिरहेको छ ।
भाडा सहुलियत दिएर आकर्षण गर्ने प्रयास
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सट्टा यी विमानस्थलबाट हुने उडान अवतरणलाई प्रभावकारी बनाउन भाडामै ३० प्रतिशतभन्दा सस्तो गर्न सकिए पनि विमान कम्पनीहरु आकर्षित हुन सक्ने स्थिति देखिन्छ । तर, सरकारले विभिन्न सहुलियतको घोषणा गरेपनि आकर्षण हुन नसकेका यी विमानस्थल सञ्चालनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको मौकामा नै उपयोग गर्न सके विमानस्थल बिजनेसबिहीन बन्नबाट रोक्न सकिने तर्क पनि सतहमा छन् ।
अन्तराष्ट्रिय उडान सहज नहुदा नेपालको पर्यटन क्षेत्रमा समेत गहिरो प्रभाव पर्न सक्छ । भाडादर अत्यधिक महंगो हुनु र अन्तराष्ट्रिय पर्यटक भाडाकै कारण आउन नसक्ने स्थिति बनेमा मुलुकले अर्को क्षति व्यहोर्नेछ । जसकारण पनि सरकारले उचित योजना बनाएर विमानस्थल सञ्चालनको तयारी भने गर्नुपर्ने देखिन्छ ।