काठमाडौं । भाइटीका भव्यतापूर्वक मनाउँदै यस वर्षको यमपञ्चक अर्थात तिहारको विदाई गरिएको छ । राष्ट्रपतिदेखि प्रधानमन्त्री र सर्वसाधारणले आइतबार भाइटीका लगाएर तिहार पर्व मनाएका छन् । हिन्दु नेपालीहरुले तिहारलाई दशैंपछिको दोश्रो ठूलो चाडको रुपमा मनाउने गर्छन् ।
आइतबार भाइटीका लगाउँदै यस वर्षको यमपञ्चक अर्थात तिहार समापन गरिएको छ । तिहारका पाँच दिनमा पंक्षि एवम् विभिन्न जनावरको पूजा गरिन्छ भने अन्तिम दिन दिदीबहिनीबाट दाजुभाइले टीका लगाउने गर्छन् ।
तिहारको पाँचौँ दिन दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको थियो ।
दिदिबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदिबहिनीलाई टीका लगाइदिन्छन् । दिदिबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीप, कलश र गणेशको पूजा गरी मुल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदि–बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिएपछि दिदिबहिनीले दाजुभाईलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदिबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।
परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ ।
त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाईटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशिर्वाद लिएको जनविश्वास रहिआएको छ ।
राष्ट्रपतिदेखि उच्चपदस्थले लगाए टीका
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा भाइटीकाको उत्तम साइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् ।
यस्तै प्रधानमन्त्री केपी ओलीले समेत बालुवाटारमा भाइटीका लगाएका छन् । आईतवार प्रधानमन्त्री ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोईराला र विष्णु ओलीबाट भाईटीका लगाएका हुन् भने ओलीले पनि टीकाको उत्तम साइतमै टीका लगाएको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भाइटीका लगाएका छन् ।
देउवाले बहिनी शुशिला खड्काबाट टीका लगाएका हुन् । राष्ट्रपति प्रधानमन्त्रीदेखि सरकारी उच्चअधिकारी र सर्वसाधारणले पनि भाइटीका लगाएका छन् । तिहारको अन्तिम दिन भाइटीकाको दिन हिन्दु नेपालीहरुले यो पर्वलाई उल्लासका साथ मनाएका छन् ।
अञ्जली दिदीको भाइटीका
लामो समयदेखि सामूहिक भाइटीका लगाउदै आएकी अञ्जली देवी मास्केले यस्तो कर्मले खुशी मिल्ने बताएकी छन् । २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले आइतबार काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन् ।
दिदीबहिनी नहुनेहरुलाई गएको २६ वर्षदेखि भाइटीका लगाउदै आएकी अञ्जली दिदीले सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएकोे जिकिर गरेकी छन् ।
भारतमा पनि उल्लास
भारतमा रहेका प्रवासी नेपालीहरुले धुमधामले देउसी, भैलो खेलेर नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको शुभकामना आदानप्रदान गरेका छन् ।
दिल्लीस्थित नेपाली राजदुतावासमा दिल्ली एनसीआरस्थित सयौं प्रवासी नेपालीहरुको उपस्थितिमा विभिन्न प्रवासी संघ संस्थाहरुले देउसी भैलो खेलेका हुन् ।
नेपाली राजदुतावासका कार्यवाहक राजदुत डा सुरेन्द्र थापा पनि कार्यक्रममा सहभागी भएका थिए । प्रवासमा रहेपछि कयौं नेपालीहरु हाम्रा चाडपर्वलाई नेपालमा जस्तै नेपाली पारम्पराअनुसार मनाउन नपाउने भएकाले राजदुतावासले वर्षको एकदिन आउने चाडपर्वलाई प्रवासमा रहेका नेपालीहरुले पनि नेपालकै शैलीमा मनाउन पाउन भन्ने उद्देश्यका साथ यो देउसी भैलो कार्यक्रमको आयोजना गरेको बताएको छ ।