काठमाडौं । आगामी मंगलवार अमेरिकामा ४७ औँ राष्ट्रपतिका लागि निर्वाचन हुँदछ । उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।
दुवै प्रतिष्पर्धी एकअर्कालाईआरोप–प्रत्यारोप लगाउँदै चुनावी मोर्चालाई जोडतोडले सम्हालिरहँदा बाँकी विश्वले भने राष्ट्रपतिमा को निर्वाचित बन्न भन्ने कुरालाई भने निकै चासो दिएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढि चासो रुस र युक्रेनले दिइरहेका छन् । झण्डै पौने ३ वर्षदेखि रुस र युक्रेनबीच युद्ध जारी छ । सूरुवातमा युक्रेनमाथि रुस निकै भारी बन्यो । तर पछि अमेरिका लगायतका पश्चिमी राष्ट्रको आर्थिक तथा हतियार सहयोग पाएपछि कतिपय स्थानमा युक्रेनले रुसलाइ पछि हट्न बाध्य पा¥यो ।
यकिन तथ्यांक सार्वजनिक नभएपनि दुवै देशले युद्धमा ठूलो क्षति व्यहोरिसकेका छन् । अहिले दुवै देशलाई युद्धका लागि सैनिकको खाँचो छ । दुवै देशको सैनामा तेस्रो मुलुकबाट समेत सैनिकमा आपुर्ति गरिएको छ ।
नेपालबाटै पनि ठूलो संख्यामा युवाहरु रुस र युक्रेनको सेनामा भर्ति भएका छन् । लामो समय युद्धको मोर्चा सम्हाल्दा भएको जनधनको क्षतिको लेखाजोखा छैन ।
यही युद्धकै बीच अमेरिकामा मंगलवार ४७ औँ राष्ट्रपतिका लागि निर्वाचन हुँदेछ । निर्वाचनमा रिपव्लिकन पार्टीको तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकको तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार छन् । निर्वाचनको मिति छोटिदै जाँदा सबैभन्दा बढि चिन्ता युक्रेनमा देखिएको छ । केहीगरी ट्रम्पले चुनाव जिते अमेरिकाले दिइरहेको युद्ध सहयोग रोकिन सक्ने चिन्ता युक्रेनलाई छ ।
ट्रम्पले पटक पटक युद्धमा युक्रेनलाई अमेरिकाले गरिरहेको सहयोगको आलोचना गर्दै आइरहेका छन् भने आफु राष्ट्रपति भएको भए यो युद्धको परिकल्पना नै नहुने अभिव्यक्ति पनि दिएका छन् ।
त्यस्तै आफु फेरि अमेरिकाको राष्ट्रपति भए २४ घण्टाभित्र युक्रेन र रुस युद्ध रोक्ने दाबी गरिरहँदा युक्रेनको चिन्ता थप बढ्दो छ । बाइडेन प्रशासनको सहयोगमा रुससँग जोरी खोजिरहेको युक्रेनलाई आफु पुनः अमेरिकी राष्ट्रपति बने सहयोग जारी राख्ने कि नराख्ने विषयमा पनि ट्रम्पले केही बोलेका छैनन् । यसले पनि ट्रम्प विजयी भएपछिको सम्भावित परिदृश्यबाट युक्रेन बेचैन छ ।
उता, रुसपनि निरन्तरको युद्धबाट भित्रभित्रै थकित छ । सैनिक संख्यामा भारि गिरावाट आउँदा अहिले रुस महिनामै ३० हजारभन्दा बढि सैनिक भर्ति गर्नुपर्ने अवस्थामा पुगिसकेको छ भने इरान र उत्तर कोरियाबाट समेत सैन्य सहयोग लिन थालेको छ ।
दशौ हजार उत्तर कोरियाली सेना रुस पुगेर अभ्यास गरिरहेको दाबी अमेरिका र दक्षिण कोरियाको छ । त्यसैले पनि आगामी अमेरिकी राष्ट्रपति को बन्छ भन्ने विषय रुसको पनि प्राथमिकतामा परेको छ ।
चुनावी प्रचारकै क्रममा ट्रम्पले पटकपटक ह्यारिसलाई युद्ध प्रेमी भन्दै चित्रित गरेका छन् भने उनी विजयी भए तेस्रो विश्वयुद्ध हुने र लाखौ मानिसको मृत्यु हुने दाबी पनि ट्रम्पको छ । ट्रम्पको यो दाबीलाई रुसले आफु अनुकुल ठानेको छ । तर ट्रम्पका यी चुनावी अभिव्यक्तिहरुमा रुस पुरै ढुक्क चाहिँ छैन ।
ट्रम्पले चुनाव जिते युक्रेनलाई सहयोग जारी राख्ने वा रोक्नेबारे केही भनेका छैनन् भने युद्ध अन्त्य गर्ने रणनीतिक योजनाको बारेमा पनि केही खुलाएका छैनन् ।
अघिल्लोपटक ट्रम्प राष्ट्रपति बन्दा रुस सबैभन्दा खुशी थियो । तर रुसको खुशी त्यतिबेला आक्रोशमा बदलियो राष्ट्रपति रहँदा ट्रम्पले नै रुसविरुद्ध झन धेरै र कडा प्रतिवन्धहरु लगाए ।
त्यसैले पनि यसपटक रुस हौसिने भन्दापनि सतर्क अवस्थामा छ । यद्यपी युक्रेनलाई दिएको सैन्य सहयोगमा खरो व्यवहार देखाइरहेका कारण ट्रम्पप्रति रुस केही विश्वस्त भने छ ।
मध्यपूर्वमा के हुन्छ ?
आफ्नो अघिल्लो कार्यकालमा ट्रम्प इजरायलको कट्टर समर्थक थिए । अमेरिकी नयाँ राष्ट्रपति चुनिने निर्वाचनकै आसपास इजरायलले गाजाबाट जारी युद्धकै बीच हिजबुल्लाह र इरानविरुद्ध पनि युद्ध शुरु गरेको छ । ट्रम्पले पटकपटक इजरायललाई आफ्नो समर्थन निरन्तर हुने दोहो¥याएका छन् । तर हमासविरुद्धको आक्रमण भने अन्त्य हुनु पर्ने ट्रम्पले बताउँदै आएका छन् । तर पछिल्लो पटककै अभिव्यक्तिमा उनले इराज इजरायल युद्धमा आफुले इजरायलको सुरक्षा गर्ने बताएका छन् ।
यसले पनि यदी उनी राष्ट्रपति निर्वाचित भए मध्यपूर्व एसियाको द्वन्द्वमा उनी इजरायलकै सारथीका रुपमा उभिने प्रष्टै छ ।