काठमाडौँ । पछिल्लो समय काँग्रेस–एमाले गठबन्धनको सरकार ढाल्न खोजिएको चर्चा सरकारबाहिर मात्र हैन सरकारभित्रै पनि चलिरहेको छ । विशेषगरी दक्षिणी छिमेकी भारतले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई रुचाइरहेको छैन । ओली प्रधानमन्त्री भएको साढे तीन महिना बित्दा पनि भारतले उनलाई आफ्नो मुलुकको भ्रमणमा बोलाएन । बरु सम्बन्ध सुधारको प्रयासका लागि ओलीले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटकपटक नेपाल भ्रमणको निम्तो दिए । ओली–मोदी सम्बन्ध सुधारका लागि भारतकी विश्वासपात्र मानिने परराष्ट्र मन्त्री आरजु राणाले समेत सक्दो प्रयास गरिन् । तर न त मोदी नेपाल आउने सुरसार देखिन्छ, न भारतले नै ओलीलाई बोलाउँछ । बरु ओली छिटै नै चीन भ्रमणमा जाने तय भएको छ । यसै क्रममा सरकारकै प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी÷विदेशी प्रतिक्रियावादी शक्तिहरुले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने अभियान चलाइरहेको बताएका छन् ।
बिहीबार एक कार्यक्रममा बोल्दै देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भए पनि उनलाई देशी–विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको जिकिर गरे । उले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमालेका नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने उनको भनाइ छ । एमाले उपमहासचिव समेत रहेका मन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति त्यसको प्रतिरोधमा नउभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
मन्त्री गुरुङले पछिल्लो समय नयाँ भनिएका पार्टीहरुले काँग्रेस–एमाले, माओवादी लगायतका पुराना ठूला पार्टीविरुद्ध भ्रम फैलाउने काम गरिरहेको समेत बताए । पुराना पार्टीहरुले केही पनि गरेनन् भनेर जनतामा गलत भाष्य सृजना गर्न खोजिएकोले त्यसका विरुद्ध वैचारिक संघर्ष गर्नुपर्ने उनको भनाइ छ ।
प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि केही दिनअघि सरकार ढाल्न ठूलै कसरतहरु भइरहेको बताएका थिए । उनले पार्टीभित्र आन्तरिक छलफलका क्रममा काँग्रेस–एमालेको सरकार ढाल्न देशभित्रै र बाहिरबाट अनेक दबाब र प्रलोभनहरु आइरहेको ब्रिफिङ गरेका थिए । तर आफूहरु गत असार १७ गतेको सत्ता–सहमतिमा अडिग रहेकाले कुनै शक्तिले सरकार गिराउन नसक्ने उनले बताएका थिए ।
वर्तमान सरकारप्रति चर्को असन्तुष्टि पोखिरहेका विपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सरकार धेरै नटिक्ने विश्लेषण गर्दै आएका छन् । शनिबार उनले राजधानीमै सरकारविरुद्ध खबरदारी सभा गरेर आफू अहिले नै सरकार ढाल्नतर्फ नलाग्ने तर बेला आएपछि सरकार आफै ढल्ने अभिव्यक्ति दिएका थिए । सडकबाट सरकार फेर्ने भन्ने काँग्रेस–एमाले नेतृत्वको सरकारलाई भ्रम परेको भए त्यो भ्रम नपाल्न आग्रह गर्दै उनले ढुक्कसँग सरकार चलाए हुने बताएका थिए । उनको यस भनाइमा कुटिल अर्थ लुकेको बुझ्न सकिन्छ । काँग्रेस–एमालेलाई बेइमान, भ्रष्ट, विचौलियाहरुको पार्टी भन्दै सत्तोसराप गरेका प्रचण्डले अब आफू प्रधानमन्त्री, मन्त्री बनाउनका लागि फकाउन आउने पक्षमा नरहेको पनि बताए । सरकारलाई बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन आफूहरुले सरकारलाई खवरदारी गरेको उनको भनाइ थियो ।
सहकारी प्रकरणमा विपक्षी दल रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि पनि सरकार ढाल्ने खेल सुरु हुने आकलन गरिएको थियो । काँग्रेसको आकांक्षा पूरा गर्न प्रधानमन्त्री ओलीले रविलाई पक्रन तयार भए पनि उनले ल्याउन खोजेको राजनैतिक दलसम्बन्धी अध्यादेशमा काँग्रेसबाटै साथ पाएनन् । यस घटनाबाट सत्तागठबन्धनका प्रमुख दुई दल काँग्रेस–एमालेबीच नै शंका र स्वार्थको राजनीति सुरु भएको देखिन्छ । सरकारलाई कुनै बाह्य शक्तिबाट भन्दा पनि काँग्रेस–एमालेकै आन्तरिक चलखेलबाट भने ज्यादा खतरा उत्पन्न हुनसक्छ ।