मुगु । मुगुको एक मात्र रारा–ताल्चा विमानस्थलमा निर्माणाधीन रहेको नागरिक उड्ययन प्राधिकरणको कार्यालयको टर्मिलन टावरसहितको भवन निमाण अलपत्र छ । ठेकेदारको ढिलासुस्ती र लापरवाहीका कारण ४ पटक म्याद थप्दा पनि निर्माण पुरा हुन सकेको छैन । ताल्चा विमास्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार समेत नहुँदा जोखिमपूर्ण उडान अवतरण हुने गरेको छ ।
रारा–ताल्चा विमानस्थलको टावर सहितको टर्मिनल भवन निमार्ण कार्य २०७६ साल असोज २ गतेबाट सुरु भएको हो । २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ओमबुस इन्टरनेशनल कम्पनी काठमाडौ बसुन्धराले कुल ८ करोड ६५ लाखमा निर्माणको जिम्मा लिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत एरोड्रम ईन्जिनिरिङ विभाग र ओम बुद्ध इन्टरनेशनल प्रालि बिच टर्मिनल भवन निर्माणका लागि सम्झौता भएको थियो । तर ४ पटक म्याद थप्दा पनि भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन । सानो कोठाको टर्मिनल भवनबाट कार्यालय सन्चालन गर्न निकै समस्या भएको छ ।
आयोजना निर्माण स्थलमा अहिलेसम्म काम गरेका कमदारले ज्याला समेत नपाएको गुनासो गरेका छन् । दशै तिहार जस्ता महत्वपूर्ण चाडबाडको समयमा समेत ज्याला नपाएको उनीहरुको गुनासो छ ।
विमानस्थल धावन मार्गको चौतर्फी सामान्य काँडे तार र अन्य तारको घेरावार भए पनि यात्रु र स्थानीय धावन मार्गको विचबाट नै यात्रा गर्ने गर्छन ।
टर्मिनल भवनको अभावमा सानो काठको घरमा सुरक्षाकर्मीले चेकजाँच गरेपछि यात्रुहरु कोचाकोच गरेर बस्नु पर्ने अवस्था छ । यात्रुहरुका लागि शौचालयको पनि उत्तिकै समस्या छ ।
आयोजनाको अन्तिम काम मंसिर मसान्त हो । समयमा बालुवा, सिमेन्ट लगायत अन्य सामान पु¥याउन नसकेर अहिलेसम्म काम गर्न ढिला भएको स्थानीयको गुनासो छ ।
पर्यटकको प्रचुर सम्भावना रहेको रारा, छायाँनाथ लगायत मुगमा धार्मिक तथा पर्यटकीय र स्थानीय भेषभुषाहरुको अध्ययन अवलोकनका लागि घुम्न आउने देशी विदेशी पर्यटकको संख्या बढ्दो छ । त्यसैले टर्मिनल भवन निर्माण कार्य समयमै सम्पन्न गर्ने पहल भइरहेको सरोकारवाला निकायको भनाइ छ ।
२०५५ सालमा स्थापना भएको ताल्चा विमानस्थलको ५ सय ७० मिटर लम्बाई २० मिटर चौडाई छ । राज्य कोषबाट करोर्डौ रकम खर्च गरेर निर्माण गरिएको विमानस्थल २०६१ सालबाट सञ्चालनमा आएको हो ।
रारा–ताल्चा एयरपोर्ट सञ्चालनको लागि पूर्वाधार नहँुदा काठको सानो घुम्तीबाट टर्मिनल भवन अर्थात नागरिक उड्डयन कार्यालय सञ्चालन हुँदै आएको छ ।