News 24 Television
ओलीको रक्षक देउवा ! अब फेरि अर्को योजना !

काठमाडौं । वर्तमान सत्ता गठबन्धन कति समयसम्म टिक्ला ? अनेक अड्कबाजी हुने गरेका छन् । सरकार ढल्न सक्ने भन्दै चलिरहेका हल्लालाई कांग्रेस सभापति शेरबहादुर देउवाले ढाडस दिने गरेका छन् । प्रायः कम बोल्ने देउवा पछिल्लो समय सत्ता र सरकारबारे ढाल बनेर उभिन थालेका छन् ।

कांग्रेस–एमाले गठबन्धन सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरिरहेका छन् । ओलीले सत्ता नेतृत्व गरेदेखि नै सरकार ढल्ने विश्लेषण चल्दै आएका पनि छन् । 

सत्ता गठबन्धनको जग नै कमजोर धरातलमा उभिएको आरोप लागिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने ओलीप्रति उदार मात्रै होइन, अनेक विषय उठाएर सकारात्मक सन्देश दिने प्रयत्न गरिरहेका छन् । 

देउवाले सत्ता गठबन्धनमा व्यापारीको भूमिकाबारे बोलेर लोकतन्त्रको रक्षाको विषय उठाए । यतिमै नरोकिएका देउवाले पछिल्लो समय कांग्रेस एमाले सत्ता गठबन्धन र सरकार निर्माणमा जनता खुशी रहेको पाइएको जिकिर गरिरहेका छन् । 

देउवा अन्य नेताहरुको तुलनामा निकै कम बोल्ने नेतामा पर्छन् । तर, प्रतिपक्षी र सर्वसाधारणले समेत सरकार लामो समय नजाने जिकिर गर्न थालेपछि देउवाले अहिले ओलीलाई ढाडस दिँदै सरकारको आलोचना स्वभाविक भएकाले नआत्तिन भनी सार्वजनिक रुपमै सुझाव दिए । 

सरकारको आलोचना हुनु स्वभाविक रहेको र त्यसलाई सकारात्मक रुपले लिनुपर्ने देउवाको भनाई छ । साथै उनले समस्या नभएको कुनै ठाउँ हुँदैन, मिलेर समाधान गरौंला भन्दै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने र नडराउन अपिल गरिरहेका हुन् । 

कांग्रेस एमाले सत्ता गठबन्धनले लोकतन्त्र खतरामा पार्न खोजेको आरोप व्याप्त छ । विपक्षी दलहरुले लोकतन्त्र खतरामा परेको र विधिको शासन पालनामा संकट आउने चर्चा चलाइरहेको छ । 

सरकारप्रति जनताको भरोसा नरहेको विषय सिद्ध गर्न प्रतिपक्षीले कदम चाल्न थालेपछि ओलीले कांग्रेस एमालेले लोकतन्त्र मर्न नदिने बताउँदै आएका छन् । 

सत्ता गठबन्धनमा दरार आउनेदेखि अनेक शंका चलिरहेकै बेला कांग्रेस सभापति शेरबहादुर देउवाले भने ओलीलाई ढाडस दिदै निर्धक्क सरकार सञ्चालन गर्न सन्देश दिइरहेका छन् । तर, ओली र उनका क्याबिनेटका सदस्यहरु भने सरकार लामो समय जान्न कि भन्ने चिन्तामा छन् । 

यसैको परिणाम सरकार ढाल्न प्रतिक्रियाबादीहरुले चलखेल गरेको भन्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले संसय व्यक्त गरिरहेका   छन् ।

सरकारबारे चलिरहेका अनेक अड्कबाजीका बीच सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति देउवाले दिइरहेको ढाडसले ओलीलाई निर्धक्क सत्ता सञ्चालनमा सहयोग गर्ला ? प्रश्न र चासो भने व्याप्त नै छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update