News 24 Television
देउसीभैलो : मौलिकता जोगाउन सिस्नुपानीदेखि सञ्चारकर्मीसम्म 

काठमाडौं । यतिबेला हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको उल्लास छ । पशुपंक्षीदेखि मान्छेको समेत पूजा गरिने तिहारमा देउसी भैलो पनि खेल्ने प्रचलन छ । 

सानासाना बालबालिकादेखि विभिन्न संघ संस्थाहरुले पनि देउसी भैलो खेलेर रमाइलो गर्ने गर्दछन् । देउसी भैलोबाट उठेको रकम कतिपयले सामाजिक कार्यमा समेत लगाउने गरेका छन् । 

तिहार हिन्दु नेपालीहरुको मौलिक संस्कृति हो । काग, कुकुरदेखि मान्छेको समेत पूजा गरिने तिहारमा गाईतिहार र गोवद्र्धन पूजाका दिन देउसी भैलो खेल्ने प्रचलन छ । 

विशेषतः कार्तिक कृष्ण पक्षको औंसीको दिन घर आँगनमा गएर खेलिने देउसी भैलो खेलिने भए पनि भाइटीकाको दिनसम्म पनि देउसी खेल्ने गरिन्छ । नेपाल पत्रकार महासंघ न्यूज २४ टेलिभिजन शाखाले यो वर्ष पहिलो पटक तिहार अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो । 

देउसीभैली जस्ता मौलिक कार्यक्रमले धार्मिक संस्कृतिको रक्षा गर्नुका साथै सामाजिक भावना जगाउने कार्य गरेको उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह बताउँछन् । 

तिहारको अवसरमा खेलिने देउसी भैलो एउटा मौलिक संस्कृति भए पनि पछिल्लो समय विदेशी गीत संगितमा नाँचगान गर्दै विकृत बनाउने गरिएको छ । त्यसैले यस्ता मौलिक संस्कृतिहरुको जर्गेना गर्नुपर्ने संस्कृतिविद्हरुको जोड छ । 

सञ्चारकर्मीहरुले नै संस्कृति जगेर्नाका लागि थालेको मौलिक देउसीभैलोको महत्व नै उच्च रहने सञ्चार उद्यमी तथा समाजिक अभिन्यताहरुको भनाई छ । 

देउसी भैलो कार्यक्रम तिहारको शुभकामना आदानप्रदानका साथै सामाजिक संस्थाहरुको रक्षाका लागि पत्रकारहरुको संस्थाबाटै संस्थागत रुपमा काठमाडौंमा पहिलो पटक थालिएको दाबी नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानका अध्यक्ष कृष्णकुमार कन्दङवाको छ ।

नेपाली मौलिक संस्कृतिको रक्षा गर्न भन्दै सिस्नुपानी नेपाल जस्ता विभिन्न सामाजिक संस्थाहरुले केही वर्षदेखि मौलिक सामुहिक देउसी कार्यक्रम आयोजना गर्ने गरेका छन् । तर अब सञ्चार माध्यमबाट समाज परिवर्तनका संवाहक पत्रकारहरुले पनि मौलिक संस्कृति रक्षामा संस्थागत रुपमै जुट्नु पर्ने आवश्यकता देखिन्छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update