काठमाडौं । नेपाल संवत नेपालको मौलिक संवतका रुपमा परिचित छ । देशकै नामबाट प्रचलनमा आएको सम्वत् भएका कारणले पनि यसप्रति नेपालीको श्रद्धा र आत्मिय सम्बन्ध स्थापित भइसकेको छ ।
शनिवारदेखि नेपाल सम्वत ११४४ पुरा गरी ११४५ मा प्रवेश गरिसकेको छ । पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वतको मान्यता पाएको नेपाल सम्वतले त्यसपछि भने राष्ट्रिय सम्वत्को हैसियत गुमायो ।
लामो संघर्षपछि नेपाल सम्वतले पूनः राष्ट्रिय सम्वत्को मान्यता पाउन लामो आरोह–अवरोह पार गर्नु प¥यो ।
नेपालमा विशेष गरेर चार किशिमका सम्वत प्रचलनमा रहेका छन् । कली सम्वत, शक सम्वत, नेपाल सम्वत र विक्रम सम्वत, यी मध्ये नेपाल सम्वत नेपालको आफ्नै मौलिक सम्वत हो ।
राजा महाराजा र ठूला धार्मिक व्यक्तिको नामबाट सम्वत चलाउने तत्कालिन प्रचलन विपतरित यो सम्वत देशको नामबाट चलाइएको छ ।
नेपाल संवत् लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित मानदेव सम्वतलाई विस्थापित गरी लिच्छवीकालकै अर्का राजा राघदेवले प्रचलनमा ल्याएका थिए । त्यतिबेलाका व्यापारी शंखधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट प्रजाहरुलाई ऋणमुक्त गरेपछि नेपाल सम्वतको सुरुवात गरेको अधिकांश इतिहासविद्हरुको तर्क छ ।
त्यस्तै कान्तिपुरका व्यापारी शंखधर शाख्वाले लखु तीर्थबाट ल्याएको बालुवा सुनमा परिणत भएपछि राजा राघदेवको अनुमतिमा राज्यका सम्पूर्ण ऋणिहरुको ऋण चुक्ता गरिदिएपछि यो सम्वत प्रचलनमा आएको भन्ने लोककथन पनि प्रशिद्ध छ ।
शंखधर शाख्वाले देशबासीलाई ऋण मुक्त गराउन पु¥याएको योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत आठ सय दुईलाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत एकमा परिवर्तन गरी चन्द्रमानक पात्रोमा आधारित नेपाल सम्वत प्रचलन ल्याइएको थियो । नेपाल सम्वत एक प्रचलनमा आएको दिन विक्रम सम्वत ९३६ र इश्वी सम्वत ८७९ थियो ।
नेपाल सम्वत्का उतारचढाव
११ सय ४४ वर्षदेखि अस्तित्वमा आएको नेपाल सम्वतले आजको दिनसम्म आइपुग्दा निकै उचारचढावको सामना गर्नु प¥यो ।
लिच्छवीकाल र मल्लकालमा राजकीय सम्वतको मान्यता पाएको नेपाल सम्वतलाई गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ विजय प्राप्त गरेपछि भने राजकीय मान्यता दिएनन् । उनले गोरखामा प्रचलनमा रहेको शक सम्वतलाई राजकीय सम्वतको मान्यता दिए । तर राजकीय सम्वतका रुपमा नरहे पनि व्यवहारमा भने नेपाल सम्वत् चलि नै रह्यो ।
जंगबहादुर सत्तामा आएपछि बनाइएको मुलुकी ऐनमा नेपाल सम्वतको प्रचलनलाई प्रतिबन्ध नै लगाइयो । त्यस्तै बिक्रम सम्वत १९६० मा चन्द्र समसेरले शक सम्वतलाई समेत हटाई उत्तर भारतमा प्रचलनमा रहेको बिक्रम सम्वत्लाई प्रयोगमा ल्याए । तर काठमाडौँका नेवार समुदायले भने नेपाल सम्वत्को प्रयोगलाई छोडेनन् ।
२००७ सालदेखि नै नेपाल सम्वत्लाई राष्ट्रिय सम्वतको मान्यता दिलाउन शुरु गरिएको संघर्षले व्यापकता पाउँदै गयो । २०५६ सालको नयाँ वर्षका दिन तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर शाख्वालाई राष्ट्रिय विभूति र २०६५ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सम्वत्ले राष्ट्रिय सम्वत्को मान्यता पाउने घोषणा गरे ।
नेपाल सम्वतको नया वर्ष नेवार समुदायले सांस्कृतिक रुपमा मनाउने गरेका छन् । वर्षको पहिलो दिन साँझ परिवारका सबै एकै साथ बसि आत्मशुद्धिका लागी आत्म पूजा गर्छन् । जसलाई म्ह पूजा भनिन्छ ।
नयाँ वर्षलाई स्वागत गर्ने क्रममा पछिल्ला वर्षहरुमा ¥याली, झाँकी तथा विभिन्न कार्यक्रमहरु समेत गरिन थालिएको छ ।