News 24 Television
तिहारमा टोपीले नै पार्दियो दंग, व्यापारीमा छायो उमंग !

काठमाडौं । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । यस वर्ष पनि तिहारमा भाईटिकाका लागि ढाका टोपीको व्यापार राम्रो उनीहरुको भनाई   छ । 

गत वर्ष भन्दा यस वर्ष  टोपीको मूल्य भने धेरै सस्तो भएको छ । र्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको भनाई छ । ढाकाटोपी नेपालको शान भएकाले त्यसको प्रयोग पनि बढ्दै गईरहेको स्थानीय व्यापारी नहकुल सिलवाल बताउँछन् ।

नेपालमा चाडपर्व दशैं–तिहार, विवाह, ब्रतबन्धलगायतका उत्सवहरुमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाईलाई उपहारको रुपमा पनि ढाकाटोपी दिने चलन अधिक रुपमा रहेको छ । यता, फूलको व्यापार पनि राम्रो भइरहेको व्यवसायीहरुले बताएका छन् । 

व्यापारमात्रै होइन फूलमा त नेपाल आत्मनिर्भर नै बनेको छ । पहिले दशैं, तिहार, र अन्य चाडपर्वहरूमा आवश्यक पर्ने फूलहरूको ठूलो मात्रामा आयात गर्नुपथ्र्यो, तर अहिले घरेलु उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । 

केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर पछिल्लो वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ । 

मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन भैरहेको छ । नेपाल ९० प्रतिशत फूलमा आत्मनिर्भर भैसकेको छ ।  

यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको छ । गत वर्ष कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । 

एसोसिएसनले सबैभन्दा बढी ३२ करोड रुपैयाँको सयपत्री फूलको माला खपत हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँको ३५ लाख वटा सयपत्री फूलको माला खपत भएको थियो । 

हरेक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै आएको एसोसिएसनले जनाएको छ । सातै प्रदेशको अधिकांश भागमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ । 

सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा शत प्रतिशत आन्तरिक उत्पादनले नै धान्ने र मुख्य गरी सहर केन्द्रित क्षेत्रहरुमा करिब ६२ दशमलब  ५० प्रतिशत आन्तरिक तथा ३७ दशमलब ५० प्रतिशत आयात गरी पूरा गर्नुपर्ने अवस्था हुन सक्ने अनुमान एसोसिएसनको छ । 

हाल नेपालका ५२ भन्दा बढी जिल्लामा व्यावसायिक पुष्पखेती भइरहेको छ । करिब २ सय ६० हेक्टर क्षेत्रफलमा भइरहेको पुष्प व्यवसायमा ११ सयभन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेका छन् । 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update