काठमाडौं । दुई तिहाई बढि समर्थन पाएको सरकार संकटमा हेलिएको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री केपी ओली सहभागि कार्यक्रममा विरोधका चर्का नारा लाग्नेदेखि सरकार ढल्ने चर्चा दिनप्रति दिन बढ्दो क्रममा देखिएको हो ।
यहि चर्चाकाबीच सरकारका प्रवक्ताले नै प्रतिक्रियावादीहरुले सरकार ढाल्ने कोसिस गरिरहेको दाबी गरेपछि यो प्रकरणमा थप बल पुगेको छ ।
केपी ओली नेतृत्वको सरकार बनेदेखि नै कांग्रेस एमालेको सत्ता गठबन्धनलाई अप्राकृतिक र असंसदीय भन्दै प्रतिपक्षी दलहरुले आरोप लगाइरहेका छन् ।
संसदीय मूल्य र मान्यता स्वीकार गर्ने मुलुकमा प्रमुख प्रतिष्पर्धी दल मिलेर सरकार बनाउने कोसिस नै नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार निर्माणको जगमै प्रश्न गरिरहेका छन् ।
अझ सरकारको नेतृत्व गरेकै बेला प्रधानमन्त्रीले विवादास्पद निर्णय गर्ने र स्वार्थ बाझिने गरि दान स्वीकार गर्ने काम गरेपछि सरकारमाथि प्रश्नहरु थप पेचिला बनिरहेका छन् ।
यस्तोमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले भ्रष्टाचार विरोधी अभियान चलाएर सरकारबाट बाहिरिनु परेपनि जनताले फेरि आफूलाई देख्न चाहेको दाबी गरिरहेका छन् ।
प्रचण्डले यस्तो जिकिर गर्दै गर्दा उनले सरकार ढाल्न कोसिस नगर्ने समेत बताइरहेका छन् । सरकार ढाल्ने कुनै काम नगर्ने तर सरकार भ्रष्टाचारको संरक्षणमा उत्रिएको आरोप लगाउदै प्रचण्डले प्रधानमन्त्री ओलीको दोहोलो काढिरहेका छन्।
विपक्षी दलहरुले यस्तो आरोप लगाउदै गर्दा सरकारका प्रवक्ता पनि सरकार लामो समय जान सक्दैन कि भन्नेमा देखिन्छन् । ओली नेतृत्वमा बलियो सरकार गठन भएको भन्दै खुशी साट्नुपर्नेमा उनले प्रतिक्रियावादीहरुले सरकार ढाल्ने कोसिस गरिरहेको जिकिर गर्दै सरकारको स्थिरतामा प्रश्न गरिदिएका छन ।
सरकारले चालेका कदमप्रति चलिरहेका विरोध र आन्दोलनले समेत प्रभाव पर्न थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र त्यसपछि चलेका प्रदर्शन आन्दोलनले समत सरकारमाथि प्रश्न गरिरहेको छ ।
सरकारले विधिको शासन स्थापित गर्न खोज्दा विरोध भएको भन्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले चित्त दुखाएका छन् भने ओलीले अराजकता रोक्ने जिकिर गरिरहेका छन् ।
यसरी प्रतिपक्षी दलहरुले सरकारको कामप्रति दबाब दिन थालेपछि सत्तारुढ दल नेपाली कांग्रेसका केहि नेताहरुले आरोपितमाथि अनुसन्धान हुनुपर्ने भनिरहेका छन् भने सरकारले पनि अनुसन्धान गर्ने बताउन थालेको छ ।
कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका सांसद ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्नुपर्ने आवाजमा सत्तारुढ दलभित्रै दबाब बढिरहेको छ ।
सरकार सहकारी प्रकरणदेखि विभिन्न विषयमा चुक्दा सरकार लामो समय नजाने विश्लेषण थप पेचिलो बन्न पुगेको छ । तर, दुई तिहाई बढिको समर्थन पाएको सरकार ढल्ने र अर्को सरकार सहजै बन्ने विषयमा कांग्रेस तयार बन्ला ? प्रश्नहरु छन् ।
तर, ओली सरकारलाई छिमेकी भारतले समेत नरुचाएको र देशभित्रका शक्ति समेत सकारात्मक बन्न नचाहेको बेला सरकार संकटको डिलमापुगेको चर्चा थप बलियो बनिरहेको छ ।