काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । रास्वपा सभापति रवि लामिछानेको पक्राउ र त्यसपछि चलेको दौडधुपले वितण्डा मच्चिन थालेको छ । रास्वपाबित्र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसमुहबीचको विवाद चुलिने क्रममा छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा लिएको छ । रवि हिरासतमा पुगेपछि रास्वपाले सडकमा आन्दोलन मात्रै गरेन, सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप समेत लगायो ।
रास्वपाले यस्तो आरोप लगाउदै गर्दा सरकारले भने कानून पालना गर्नुपर्नेमा अराजकता निम्त्याउन खोजेको आरोप लगाइरह्यो । यहिबीचमा रवि निकट बन्ने होड चलेपछि रास्वपामा विवाद थप उत्कर्षमा पुगेको छ ।
रवि कास्की प्रहरीको हिरासतमा छन् । कास्की प्रहरीले रविविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धिकरण तथा कम्पनी कानून उल्लङ्घन लगायतमा अनुसन्धान गरिरहेको छ ।
रविको बयान लिने काम सकिएको भन्ने हल्लाकाबीच उनको रिहाईलाई समेत नजिकबाट हेरिएको थियो । तर, रविको बयान नै नसकिएको भन्दै कास्की प्रहरीले तिहार बिदा सकिएपछि बयानका लागि म्याद थप्ने भनिरहेको छ ।
यस्तोमा रविको रिहाईका लागि रास्वपाभित्रको चलखेल तीब्र बन्न पुग्यो । यसको केन्द्रमा थिए, उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले । रवि हिरासतमा रहेपनि उनले कार्यबाहक सभापति समेत तोकेका छैनन् । यस्तोमा डीपीले अध्यक्षता गर्दै पार्टी बैठक बोलाए ।
त्यो बैठकबाटै आन्तरिक असन्तुष्टी देखिएपनि विवाद सतहमा आएन । तर, जब डीपीले सुटुक्क प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई भेटे त्यसपछि भने विवाद थप उत्कर्षमा पुग्यो ।
जिम्मा स्वर्णिमलाई, काम डीपीको
राजनीतिक सम्वादको जिम्मा रास्वपामा स्वर्णिम वागलेले पाएका छन् । यसको अर्थ हो, राजनीतिक भेटवार्ता गर्नुपरेमा स्वर्णिमले नै कमाण्ड सम्हाल्ने । तर, यसको विपरित डीपीले उच्च राजनीतिक भेटवार्ता गर्दै रविको रिहाईका लागि हारगुहार गर्न थाले ।
डीपीले ओली र लेखकलाई मात्रै नभई परराष्ट्रमन्त्री आरजु राणालाई समेत भेट्न म्यासेज पठाएपछि विवाद थप रोचक मोडमा पुग्यो । आरजुलाई भेट्न म्यासेज पठाएका डीपीले किन र के का लागि यस्ता भेटलाई तीब्रता दिए भन्ने विषय सार्वजनिक रुपमा नखुलेपनि रविको रिहाईका लागि राजनीतिक सौदाबाजी नै गर्न खोजेको आरोप लागिरहेको छ । तर, यस्तो विवादमा कसको हात छ भन्ने विषय भन्दापनि रविको रिहाईको पहलसहित पार्टी नेतृत्वसँग जस लिने काम चल्दा विवाद थप उत्कर्षमा पुगेको बताइन्छ ।
सक्रियता फरक–फरक
डीपी अर्यालले आरजुलाई पठाएको म्यासेज सार्वजनिक भएपछि उनले कानूनी कारबाहीका लागि सम्बन्धि निकायमा जाने चेतावनी दिएका छन् ।
वैयक्तिक स्वतन्त्रता हनन भएको भन्दै कानूनका विभिन्न दफा उपदपा उल्लेख गरेका डीपीले म्यासेज सार्वजनिक हुनुमा समेत पार्टीभित्रकै व्यक्तिलाई शंका गरिरहेको बताइन्छ ।
सामान्य मान्छेको पहुच नै नहुने गरि डीपीको मोबाइलको म्यासेज सार्वजनिक हुनु र रविको रिहाईका लागि तोकिएको जिम्मेवारी बाहिर गएर जोखिम मोलिरहेका डीपी निशाना बन्नुले पनि रास्वपाको विवाद थप रोचक मोडमा पुगेको छ । सक्रिय देखिनुपने स्वर्णिमको राजनीतिक सम्वादमा डीपीको दौडधुपले पार्टीभित्रको विवाद कति लम्बिएला ? यो चासोको विषय बनेको छ ।