काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीभित्रको दबाबका साथै राजकीय सत्ता नेतृत्वका लागि समेत पीडामा पर्ने गरेका छन् । जस्तोसुकै पीडामा पनि आफूलाई चुस्त राख्न अनेक फण्डा गरिरहने प्रचण्ड आफैलाई भारी पर्ने शब्द चयनसहित आत्मरतिमा रमाउने गरेको आरोप समेत लाग्ने गर्छ । तर, उनी आफ्नो पक्षमा माहोल बनाउन निर्धक्क जस्तोसुकै कदम चाल्न र अभिव्यक्ति दिन किन अघि सर्छन् ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सत्तामा हुँदा होस वा सत्ता बाहिर, आफ्नो पक्षमा खुलेर माहोल बनाउने गर्छन् । निर्धक्क बोल्ने प्रचण्ड कतिपय स्थितिमा पत्यार लाग्दा भन्दा अपत्यारिला विषयमा प्रवेश गर्छन् । किन उनी उत्तेजित हुन्छन् ? उनको यो प्रवृतिमा प्रश्न त धेरैले गर्छन् तर, उनी आफ्नो लय भने छाड्दैनन् ।
पछिल्लो केही समयको अन्तरालमा प्रचण्डले दिएका केहि रोचक अभिव्यक्ति र अहिलेको अवस्था कस्तो छ त ?
१. सरकारमा पुरै अवधि जाने दाबी
तत्कालीन समयमा सरकारको नेतृत्व गरेका प्रचण्डले पटक–पटक विश्वासको मत लिने स्थिति आइपरेपछि उनको सत्ता लामो समय नजाने चर्चा चल्न थालेको थियो । तर, प्रचण्डले यस्तो दाबीलाई पन्छ्याउने रणनीति अवलम्बन गर्न एक कार्यक्रममा माओवादी केन्द्रसँग जादूयी नम्बर रहेको भन्दै सरकार कसैले पनि ढाल्न नसक्ने जिकिर गरे ।
यतिमै नरोकिएका प्रचण्डले अझं सकेसम्म पुरै अवधि सरकारको नेतृत्व गर्ने जिकिर नै गरिदिए ।
२. सरकारबाट बाहिरिएपछि विदेशीको धारणा सार्वजनिकमै विवाद
सरकारबाट बाहिरिएको केहि समयमै उनले आफूलाई माथि र उचो देखाउन रोचक अभिव्यक्ति दिए । प्रचण्डले वेलायती राजदूतले आफूलाई बेलायत सरकारले पठाएको पत्र आफूलाई प्राप्त भएको र त्यसमा आफूले प्रश्न गर्दा बडो सम्मानको जवाफ पाएको आश्चार्यजनक अभिव्यक्ति दिए ।
उनले प्रधानमन्त्रीलाई बुझाउनुपर्ने पत्र आफूलाई आएको दाबी गर्दै उचो देखाउने प्रयास गरे । तर, यसको स्वतन्त्र पुष्टी भने कतैबाट पनि भएन ।
३. सरकार नढाल्ने दाबी
केपी ओली नेतृत्वको सरकारसँग दुई तिहाई बढि मत छ । यस्तोमा प्रचण्डले चाहेर पनि सरकार ढालिहाल्ने स्थिति छैन् । राजनीतिक माहोल मिलाउदै सरकार ढाल्ने प्रयास चलिरहेपनि प्रचण्डले भने जसरि सहजै सरकार ढल्ने स्थिति छैन् । तर, प्रचण्ड सरकार असफल भइसकेपनि अहिले नै सरकार नढाल्ने पक्षमा आफू रहेको जिकिर गरे ।
यस्तोमा उनले चाहेर पनि सरकार ढल्ने स्थिति छैन् । सक्ने स्थिति भएको भए उनले सत्ता नेतृत्वबाट बाहिरिने बाटोलाई मोड्ने पक्कै थिए ।
४. जनताले माया गर्न थालेको दाबी
प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएकाले जनताको माया पाएको जिकिर गरिरहेका छन् । यता, प्रधानमन्त्री र सत्तारुढ दलका नेता शेरबहादुर देउवा सहभागी कार्यक्रममा बएको नाराबाजीदेखि रंगशालामा लागेको नारालाई लिएर प्रचण्ड हौसिएको देखिन्छ ।
प्रधानमन्त्री ओली सहभागी भएको खेलमा लागेको अमर्यादीत नारालाई प्रचण्डले आफ्नो पक्षमा माहोल बनेको अर्थमा लिइरहेका छन् । तर, यस्तो अराजक भीडको भर हुँदैन भन्ने कुरा उनले नबुझेकै हुन् ? प्रश्न र जवाफ उनीसँग पक्कै छ ।
यस्ता कयौं विषयमा प्रचण्डले निर्वाध बोलिदिन्छन् । उनको बोलीको तालमेल राजनीतिक घटनापरिघटनासँग खासै मेल खाएको देखिदैन ।
आफ्नो बखान गर्न आफै अघि सर्ने प्रचण्डले किन पार्टीपंक्तिलाई प्रयोग नगरी अघि सर्छन् ? यस्तो प्रश्नको जवाफ समेत उनले आफै दिने गरेका छन् ।
आफू भावनात्मक र भावावेषमा आएर बोल्ने गरेको कुरा समेत खुलस्त भन्ने गर्छन् । यस्ता कयौम विषयका कारण पनि प्रचण्डले दिने अभिव्यक्तिमाथि आत्मरति मिसिएको भन्ने चर्चा हुने गर्छ । जस कारण प्रचण्डले गर्ने दाबी केहि राजनीतिक र केहि आत्मरतिका पनि हुने विश्लेषण चलिरहन्छ ।