काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा कृषी सामाग्री आयातमै जाने भएकाले नेपालमा कृषीमा आत्मनिर्भरताको बाटो खोजिन थालिएको छ ।
खाद्यान्न आयातमा ठूलो धनराशी खर्चिने नेपालले फूल जस्ता अन्य कृषीजन्य सामाग्री समेत उत्तिकै आयात गर्थ्यो । तर, पछिल्लो समय नेपाल फूलमा आत्मनिर्भर बनेको छ । पहिले दशैं, तिहार, र अन्य चाडपर्वहरूमा आवश्यक पर्ने फूलहरूको ठूलो मात्रामा आयात गर्नुपथ्र्यो, तर अहिले घरेलु उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ ।
केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर पछिल्लो वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ । मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन भैरहेको छ । नेपाल ९० प्रतिशत फूलमा आत्मनिर्भर भैसकेको छ ।
यस वर्षको तिहारमा सयपत्री, मखमली, गोदावरी र मिक्स गरी ४५ लाख २५ हजार माला खपत हुने अनुमान गरिएको छ । गत वर्ष कुल ३९ लाख ७५ हजार वटा सयपत्री, मखमली, गोदावरी र मिक्स माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
एसोसिएसनले सबैभन्दा बढी ३२ करोड रुपैयाँको सयपत्री फूलको माला खपत हुने अनुमान गरेको छ । गत वर्षको तिहारमा २२ करोड ७५ लाख रुपैयाँको ३५ लाख वटा सयपत्री फूलको माला खपत भएको थियो ।
हरेक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै आएको एसोसिएसनले जनाएको छ । सातै प्रदेशको अधिकांश भागमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ ।
सयपत्री फूलको बजार मागको आपूर्तिका लागि ग्रामीण क्षेत्रमा शत प्रतिशत आन्तरिक उत्पादनले नै धान्ने र मुख्य गरी सहर केन्द्रित क्षेत्रहरुमा करिब ६२ दशमलब ५० प्रतिशत आन्तरिक तथा ३७ दशमलब ५० प्रतिशत आयात गरी पूरा गर्नुपर्ने अवस्था हुन सक्ने अनुमान एसोसिएसनको छ ।
हाल नेपालका ५२ भन्दा बढी जिल्लामा व्यावसायिक पुष्पखेती भइरहेको छ । करिब २ सय ६० हेक्टर क्षेत्रफलमा भइरहेको पुष्प व्यवसायमा ११ सयभन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेका छन् । पुष्प व्यवसायलाई दिगो बनाउन सरकारले विशेष नीति, अनुदान, र प्राविधिक सहयोगमा ध्यान दिनु आवश्यक रहेको एसोसिएसनको बुझाई छ ।
अघिल्ला वर्षहरुमा नेपालले वार्षिक ३० करोड बढिको फूल आयात गर्ने गर्थ्यो । फूल आयातमा करोडौं रकम बाहिरिने गरेको बेला नेपालमै किसानहरु पुष्पखेतीमा आकर्षित बन्न थालेपछि नेपाल फूलमा आत्मनिर्भरतातर्फ अघि बढेको हो । यद्यपी पुष्पखेतीमा लागेका कृषकहरूलाई अत्याधुनिक प्रविधि, प्राविधिक तालिम, र अनुसन्धानमा आधारित नयाँ जातको प्रयोगबारे प्रशिक्षित गर्न जरुरी छ ।
सरकारले पुष्प उत्पादनको क्षेत्रमा सिँचाइ, मल, बीउ, तथा प्राविधिक साधनहरूको सहज पहुँचको व्यवस्था गर्नुका साथै फूलहरूको बजारीकरण र निर्यात प्रक्रियालाई सरल बनाउन विशेष सहजीकरणको नीति बनाउनु जानकारहरूले सुझाएका छन् ।
यसले गर्दा पुष्प व्यवसायमा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुनेछन् भने नेपाल सतप्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर बन्नेछ ।