News 24 Television
तिहारमा अत्यधिक खपत हुने भाइमसला, मूल्य बढ्यो ३० प्रतिशत

काठमाडाैँ । तिहारमा अत्यधिक खपत हुने भाइमसला यस वर्ष करिव ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन् ।

भाई मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताए । उनले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताए । मूल्य बढेकाले यस पटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ । 

व्यापारी बज्राचार्यले भने, ‘अब भाउको हिसाव गरौै भने पोहोरसाल भन्दा यसपाली यो ड्राईफुड मसला करिव ३० पर्सेन्टले महंगीएको छ । कारण के होला ? मेरो विचारमा अस्ती असोज महिनामा आएको बाढीले गर्दाखेरी यहाँ मात्रै होइन, पाकिस्तानमा पनि आयो, भारतमा आयो । त्यसले गर्दा पसल बिग्रिएको हुनाले, पसल कम भएको हुनाले म भाउ महंगिएको मैले महशुस गरेको छु । साथै यसमा कर तिर्नुपर्यो । यसले गर्दा यसपाली मसलाको भाउँ निकै महंगो छ पोहोरसालको तुलनामा । त्यही भएर मानिसहरुले एफोर्ड गर्न सक्दैन । पोहोर एक किलो लिने मानिसले यस पटक आधाकिलो मात्रै दिनुस् भन्छन् । त्यसो भएकाले यस पटक विजनेस डाउन नै देखिन्छ ।’

यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन । ग्राहकहरुको भनाई छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ । व्यापारीहरुले मिलाएर दिनुभए ग्राहकहरुलाई सजिलो हुने थियो ।’ 

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिव २५/३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् । 

बज्राचार्यले भने, ‘२५/३० पर्सेन्ट सबै वस्तुको भाउ बढेको छ । काजुमा पनि बढेको छ । किसमिस, बदाम, छोकडा, नरिवल, ओखर सबैमा भाउ एकदम बढेको छ । त्यही भएर व्यापार विगतमा भन्दा यस वर्ष निकै घटेको छ ।’ 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update