पर्सा । देशको प्रमुख आर्थिक नगरी वीरगञ्जमा तिहारको रौनक उत्कर्षमा छ । रंगीचंगी झिलिमिली बत्तिले रंगीएको वीरगञ्जमा लक्ष्मी पूजा अझ विशेषरुपमा मनाउने गरिन्छ ।
यसवर्षको तिहारको लक्ष्मी पूजाका लागि केराको थाम र फूलहरुको बिक्रि ह्वात्तै बढेको छ । लक्ष्मी पूजाका दिन घरघरमा ढोकाको सजावटका लागि केराको थाम राख्ने प्रचलन भएकाले पनि वीरगञ्जमा केराको बोटको व्यापार बढेको हो ।
हिन्दुधर्मावलम्वी नेपालीको दोस्रो ठूलो पर्व तिहार शुरु भइसकेको छ । तिहारका अन्य दिनहरुमध्ये तराई तथा मधेश क्षेत्रमा लक्ष्मी पूजा अझ धुमधामले मनाइन्छ ।
आर्थिक राजधानीका नामले समेत चिनिने वीरगञ्जमा लक्ष्मी पूजाको चहलपहल निकै बढेको छ । आर्थिक मन्दीले व्यापारीहरुमा निराशा छाएपनि धनधान्यकी देवी लक्ष्मीको पूजा भने वीरगञ्जमा उल्लासपूर्वक गरिदैछ ।
हिन्दु धर्मसँग सम्बन्धित सबै चाडपर्व उत्तिकै महत्वका साथ मनाइने वीरगञ्जमा लक्ष्मी पूजाको छुट्टै महत्व रहेको छ । लक्ष्मीपूजाको दिन विहिवार बिहानैदेखि घरका गृहिणीदेखि व्यापारीहरु सरसफाई तथा सजावटमा व्यस्त छन् ।
झिलिमिली बत्तीले यतिबेला वीरगञ्ज धपक्कै बलेको छ भने घर, पसल तथा उद्योगहरुको मुल ढोकामा सयपत्री फूल तथा केराको थामले वीरगञ्ज दुलहीजस्तै सिंगारिएको छ ।
तराई क्षेत्रमा लक्ष्मी पूजाका दिन घर, पसल तथा उद्योगहरुमा केराको थाम लगाउने अनिवार्यजस्तै बनिसकेको परम्पराका कारणपनि वीरगञ्जमा फूल तथा केराको थाम बेच्न व्यापारीहरुलाई भ्याई नभ्याई छ । तर विगतको तुलनामा यसपटक केराको थाम तथा फुलहरु महंगो रहेको वीरगञ्जवासी बताउँछन् ।
लक्ष्मी पूजाका दिन घरको मुल ढोकामा केराको थाम लगाए शुभ र लाभदायक हुने र लक्ष्मी प्रवेश गर्ने जनविश्वास रहेको छ । लक्ष्मीपूजाका दिन बिक्रि धेरै हुने भएकाले पर्सा, बारा र रौतहट लगायतका जिल्लाबाट व्यापारीहरुले केराको थाम वीरगञ्ज ल्याउने गर्छन् ।
त्यसो त यसपटक अघिल्ला वर्षहरुको तुलनामा सयपत्री फूलको मूल्य पनि आकाशिएको छ । गतवर्ष लक्ष्मी पूजाको दिन जोडाको १ सय पर्ने फूलको मालाको मूल्य यसवर्ष १ सय ५० सम्ममा बिक्रि भइरहेको छ ।