News 24 Television
राज्यको नियम विपरित मुगुको गमगढीमा व्यापार व्यवसाय 

मुगु । मुगुको सदरमुकाम गमगढी बजार लगायतका स्थानीय तहमा व्यवसाय सञ्चालन गदै आएका ब्यापारीहरुले राजश्व छली गर्दै आएको अनुगमको क्रममा पाइएको छ । अनुगमनकै क्रममा व्यापारीहरुले म्याद नाघेका र मूल्य सूचीसमेत नराखी खाद्यान्न लगायतका वस्तुहरु बिक्रिवितरण गरिरहेको समेत भेटिएको छ । 

जसरी काठमाडौँ लगायत देशका मुख्य सहरहरुमा चाडपर्वको बेला मात्रै बजार अनुगमन तीव्र पारिन्छ, अहिले मुगुको सदरमुकाम गमगढीमा ठ्याक्कै त्यस्तै हुन थालेको छ । 

दशै तिहारको छेको पारेर गरिएको अनुगमनका क्रममा गमगढीका धेरै व्यापारीहरुको कैफियत फेला परेको छ । व्यापारीहरुले म्याद नाघेका सामान बेच्ने गरेको र दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूची समेत नराखेको अनुगमनमा भेटिएको छ । 

त्यस्तै कतिपय व्यापारीहरुले मदिरा, सुर्तिजन्य बस्त, होटल, ईलोक्टोनिक पसल, कपडा पसल लगायतका व्यवसाय कुनै पनि निकायमा दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । यस्ता अवैध व्यवसायहरु मात्रै गमवढीमा २ सय भन्दा बढि रहेका छन् । तर व्यवसायहरुलाई कुनै कारबाही नगरी दर्ता गर्न सुझाव मात्रै दिने गरिएको छ । 

चाडपर्वमा गरिने अनुगमन वार्षिक लक्ष्य अनुसार औपचारिकता निभाउन मात्रै गरिएको उपभोक्ताले आरोप लगाए । त्यस्तै ब्यापारीलाई सचेत र उपभोक्तालाई चेतना फैलाउने भन्दापनि तस्करी मौलाउने खालको अनुगमन हुदै आएको स्थानीयको गुनासो छ ।

अनुगमन निकायको लापरवाहीका कारण एकातिर राज्यको कर छलि भएको छ भने अर्को तिर उपभोक्ताहरु म्याद गएको अखाद्य बस्तुहरु प्रयोग गर्न बाध्य छन् । 

बिशेष गरी बजारमा रहेका दैनिक उपभोग्य बस्तु पसलमा मूल्य सुचि नराखेको, धेरै पसलहरु दर्ता नभई सन्चालन गरीएको, सामानको म्याद नाघेका सामान प्रयोग बारे उपभोत्ताहरुलाई जानकारी नहुने हुँदा यी अनुगमनमा देखिएका समस्याहरु समाधान गर्नको लागी जनचेतना समेत दिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले दाबी गरेको छ । 

कानुन बिपरीत राज्यलाई राजश्व छली ब्यवसाय सन्चालन गरी गैर खाद्यान्न वस्तु बिक्री तथा खरीद गर्ने निकायलाई कानुन बोमजिम कारबाही अगाढी बढाईने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

जिल्लामा रहेको सरोकारवाला निकायहरुको रोहवरमा दशै तिहारको समयमा १ सय २२ पसलमा ३  पटक बजार अनुगमन गर्दा  ६९ हजार १ सय मूल्य बराबरको म्याद गएको सामान बरामद गरी नष्ट गरिएको छ भने अनियमितता गरिरहेका व्यापारीहरुलाई सम्झाउने मात्रै काम भएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update