News 24 Television
नागरिक आक्रोशः टुँडिखेलदेखि रंगशालासम्म  

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशक बढी भइसकेको छ । तर पनि मुुलुक समृद्धिको दिशामा अघि बढ्न नसक्दा नागरिक तहमा राजनीतिक सरकार र राजनीतिक दलका नेताहरुप्रति आक्रोश चुलिएको छ ।

जसले गर्दा समाजिक सञ्जालहरुमा मात्र नभई सार्वजनिक स्थलहरुमा समेत नेताहरुविरुद्धको आक्रोश पोखिने गरेको छ । राजनीतिक दलका नेताहरुप्रति पछिल्लो नागरिकहरुको वितृष्णा निकै चुलिएको छ ।

त्यसैले गर्दा ७० को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र ब्यक्ति निर्वाचित भए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको डेढ दशक बढी भइसक्दा पनि नागरिकको अपेक्षा पूरा नभएपछि राजनीतिक दलहरुप्रति आक्रोश चुलिएको हो ।

नेपाली कांग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकले नेताहरुलाई हेर्ने दृष्टिकोण खराब भएको भन्दै दलहरु सुध्रिनु पर्ने सुझाव नै दिएका थिए । 

राप्रपा अध्यक्ष लिङदेनको यो सुझावलाई भने दलहरुले सहज स्वीकारेनन्, बरु उनकै आलोचना गरे । राजनीतिक दलहरुप्रति कत्तिको वितृष्णा छ भन्ने कुरा ७९ सालको संघ र स्थानीय तहको निर्वाचनले नै पुष्टी गरिदियो । 

पछिल्लो समय राष्ट्रिय–अन्तर्राष्ट्रिय प्लेटफर्मको गैरराजनीतिक कार्यक्रममा सहभागी हुँदासमेत प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेको छ । प्रधानमन्त्री केपी शर्मा र कांग्रेस सभापति शेरबहादुर देउवा गत भदौ १० गते काठमाडौंको टुँडिखेलमा गौरापर्वको कार्यक्रममा सहभागी हुँदा नाराबाजी भयो । तर नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्नेतर्फ नलागी तत्कालै ओली र देउवाले सिंगो युवापंक्तिविरुद्ध मात्र उत्रिएनन्, उनीहरुलाई पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्धा चलाउन निर्देशन दिए । 

प्रधानमन्त्री ओलीको निर्देशनमा पक्राउ परेका सुर्खेतका गोपीराम जैसी, अछामका रामबहादुर बुढा र कञ्चनपुरका दीपक सिंह ठगुन्ना ९÷९ हजार धरौटी बुझाए छुटेका थिए । 

प्रधानमन्त्री ओलीसहित राजनीतिक दलका नेताहरुप्रतिको आक्रोश पोखिने क्रम रोकिएको छैन । बुधबार नेपाल र बंगलादेशबीच भएको साफ वुमेन च्याम्पिनसिपको फाइनल खेल हेर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध पनि खेल दर्शकहरुले नाराबाजी गरे । फाइनलमा नेपालको पराजयको दोष दर्शकले प्रधानमन्त्रीमाथि पोखेका थिए । 

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका गएकोबेलासमेत प्रधानमन्त्री ओलीविरुद्ध अमेरिकामा नै प्रवासी नेताहरुले नाराबाजी गरेका थिए । सत्तामा पुग्न जस्तोसुकै हर्कत गर्ने तर देश र जनताप्रति जवाफदेही नबनेकै कारण जनताको आक्रोश चुलिँदै गएको हो । तर सिंगो युवा पंक्ति नै असमाजिक भएको जस्ता हल्का टिप्पणीले नेताहरु आफैलाई क्षति पु¥याउने निश्चित छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update