News 24 Television
विद्युतीकरणमा छलाङ्ः निर्माण आयोजनाको काम तीब्र

काठमाडौं । म्याग्दीको राहुगंगा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

रघुगंगा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युतगृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।

विद्युतगृह, बाँध, सुरुङ र प्रसारणलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनले जनाएको छ । सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ भने आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । 

त्यस्तै तुँदी पावरले राहुघाटमै अर्को ३७ दशमलव ५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । रघुगंगा  गाउँपालिका–८ को बन्दीमा बाँध, वडा नम्बर–७ को चिमखोलामा विद्युतगृह र पाँच हजार ३ सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ । 

मंगले राहुघाटको विद्युतगृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुईवटै आयोजना निर्माणमा १३ अर्बभन्दा बढी लगानी हुने अनुमान गरिएको छ । 

अपर राहुघाट र मंगले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । 

यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

नेपालमा जलविद्युत् आयोजना निर्माणले दीर्घकालीन रूपमा ऊर्जा आत्मनिर्भरता र आर्थिक समृद्धिमा योगदान पुर्याए पनि यसले केही चुनौतीहरू र संभावित जोखिमहरू पनि ल्याएको छ ।

जलविद्युत् आयोजनाले ग्रामीण क्षेत्रमा रोजगारी, पूर्वाधार, र ऊर्जा पहुँचको विस्तारमा फाइदाहरू पुर्याएपनि जलविद्युत् परियोजनाहरू प्रायः कठिन भौगोलिक परिस्थितिमा अवस्थित भएकाले निर्माणमा उच्च लागत र प्राविधिक चुनौतीहरूको सामना गर्नुपरिरहेको छ । 

यसर्थ, दीर्घकालीन फाइदा सुनिश्चित गर्न जलविद्युत् आयोजनाहरूको विकासलाई पारदर्शिता, पर्यावरणीय सन्तुलन, र दिगोपनको दृष्टिकोणबाट अघि बढाउन आवश्यक छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update