काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रचण्ड, ओली र माधव नेपालको स्वार्थ र दम्भ अनि अदृश्य विदेशी शक्तिका कारण सफल हुन सकेन ।
नेकपा विभाजनपछि समग्र कम्युनिष्ट आन्दोलन माथि नै प्रश्न उठ्यो । कम्युनिष्टहरु स्वार्थ मिल्दा एक र नमिल्दा फुटिहाल्छन् भन्ने भाष्यको निरन्तरता नेकपा विभाजनले पुष्टि गरिदियो ।
कहिले कांग्रेस र कहिले एमालेको बुई चढेका पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस एमालेको गठबनधन भएपछि नराम्रोसँग पछारिए । सत्तामा हुँदै समाजवादी मोर्चा गठन गरेर कांग्रेस र एमालेलाई सन्तुलनमा राख्ने रणनीति पनि फेल भए पछि उनी कहिले समाजवादी मोर्चा र कहिले माओवादी एकताको रटान लगाउँदै अगाडि बढे । तर उनको सबै चाल र प्रयास असफल हुँदै गएपछि प्रचण्ड निराश देखिन थालेका छन् ।
नेपालमा छरपस्ट अवस्थामा रहेका सानादेखि ठूला कम्युनिष्ट पार्टीहरु एक हुने हो भने अहिले देशमा सहजै कम्युनिष्टको बर्चस्व हुन्थ्यो । तर कम्य्ुनिष्ट आन्दोलनको मुख्य नेतृत्व आफैलाई ठान्ने नेताहरुको स्वार्थका कारण नेपालमा कम्युनिष्ट विचारधारा बोकेका दलहरु एकजुट हुनै सक्दैनन् । यहि कारण पनि देशमा कम्यूनिष्टहरु कमजोर मात्रै बनिरहेका छैनन्, उनीहरुले मुख्य शत्रु ठानेका पुँजीवादीहरुको भ¥याङ चढ्न र भरिया बन्न समेत विवश छन् ।
जसको उदाहणका रुपमा एमाले–माओवादी एकीकरण र फुटलाई लिन सकिन्छ । नेकपा फुट पछि कहिले माओवादी केन्द्र कांग्रेसको भ¥याङ्ग बनेको छ त कहिले एमाले ।
यसको मुख्य कारण एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल हुन् ।
विप्लव नेतृत्वको नेकपा, नारायणमान विजुक्षे नेतृत्वको नेमकिपा, चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा, धर्मेन्द्र बस्तोलाको नेकपा बहुमत, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहितका साना ठुला गरेर एक दर्जन भन्दा बढी कम्युनिष्ट पार्टी नेपालमा छन् । तर यी सबैले आफुलाई मात्रै खाँटी कम्युनिष्ट मान्ने र अरुलाई नक्कली कम्युनिष्ट किटान गर्ने भएकैले पनि यी पार्टीहरु एक हुन सम्भव कतै देखिदैन ।
नेकपा विभाजन पछि कांग्रेसको बुई चढेका प्रचण्ड कांग्रेस एमालेको सत्ता गठबन्धन हुदाँ बजारिन पुगे भने अहिले कमजोर प्रतिपक्षी नेताको हैसियतमा छन् । प्रधानमन्त्री भएकै बेला बर्ग सत्रु ठानेको कांग्रेस र आफ्नै कुलको एमालेलाई चेक दिन बनाएको समाजवादी मोर्चा र माओवादी एकिकरणको नारा अहिले तुहिएको छ ।
प्रतिपक्षको भुमिकामा पुगेपछि उनले समाजवादी मोर्चालाई अगाडि बढाउन खोजे तर त्यो पनि सफल हुन सकेन । त्यसपछि उनले माओवादी एकिकरणको नारा घन्काए तर त्यो पनि सफल हुन सकेको छैन । त्यो उनकै पछिल्ला भनाईंले पुष्टि गरेको छ । उनले एकताको कुरा भन्दैमा नहुने भन्दै अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारमा हिँड्नेसँग संकल्प गर्न आवश्यक रहेको बताउन थालेका छन् ।
यति मात्रै होइन जनयुद्धको प्रस्ताव, कम्युनिष्ट पार्टीको एकताको प्रस्ताव, शान्ति सम्झौताको प्रस्ताव पनि आफैले राखेको र अहिले आएर हेर्दा आफैलाई पहिला समाजवादी क्रान्तिमा होम्ने बैचारिक र व्यवहारीक संकल्प नगरी अरुसँग मिलेर केही हुन्छ भन्ने कुराको कल्पनाले आफुहरु कहि न कहि चुकेको महसुस हुन थालेको प्रचण्ड बताउन थालेका छन् ।
विगतमा मौका पाउँदा आफ्नो स्वार्थमा केन्द्रीत रहेर सोच्ने प्रचण्डकै पछिल्लो भनाईले यति बुझ्न सकिन्छ कि कम्यु्निष्ट नेतृत्वले स्वार्थ केन्द्रित रहेर अगाडि बढ्दा कम्यु्ष्टि आन्दोलन मात्रै होइन समग्र देश नै अहिलेको यो अवस्थामा पुगेको हो । जनताले पटक पटक विश्वास गरेका कम्यु्निष्ट पार्टीका नेतृत्वले उत्पीडित, गरिव जनताको उत्थान र उनीहरुले कुरा गर्ने वर्ग संघर्षका नाराहरु भाषणमा मात्रै सिमित हुदाँ कम्युष्टि आन्दोलन नै बद्नाम हुन पुग्यो ।
एमालेलाई बाईपास गरेर अगाडि बढेको समाजवादी मोर्चा र कम्युनिष्ट पार्टी बिच एकिकरणको नारा पनि यहि कारण तुहिन पुग्यो । यो कुराको पुष्टि प्रचण्डकै भनाईबाट भएको छ भने अब आगामी दिनमा पूनः कम्युनिष्ट एकताको कुरा गर्न समेत हिम्मत नगर्ने अवस्थामा उनी पुगेका छन् ।