News 24 Television
सडकमै ज्यानको जोखिम ! जोगिने कसरी ?

सिन्धुली । बाढी र पहिरोले भत्किएको वीपी राजमार्गमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।  गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी र पहिरोले राजमार्गको ठाउँठाउँमा क्षति पु¥याएको छ । 

काठमाडौंलाई पूर्वी तराइसँग जोड्ने एक मात्र छोटो राजमार्ग रुपमा रहेको वीपी राजमार्गमा यतिबेला सवारीको चाप छ । नेपालीको दोस्रो महान पर्व तिहार मनाउन काठमाडौंबाट फर्किने र काठमाडौं आउने यात्रुको चाप बढेको हो ।  

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढी पहिरोले क्षतविक्षत छ । रागमार्गको खराब अवस्थाले यात्रुहरु मारमा परिरहेका छन् । 

रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ । कतै चिराचिरा परेको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार साथै छठ पर्व मनाउन राजधानीबाट फर्किनेको संख्या बढेसँगै राजमार्गमा सवारीको चाप पनि बढेको छ । राजमार्गमा सवारी घण्टौ जाम पर्ने गरेको छन् ।

रोशि खोलाको किनारबाट बैकल्पिक सडक निर्माण गरि सवारी आवतजावत भइरहेको छ । राजमार्गको यात्रा सकसपूर्ण रहेको यात्रुहरुको गुनासो छ ।  

राजमार्गका ठाउँठाउँमा सडक माथिबाट बेलाबेलामा ढुङ्गा, सुख्खा पहिरो झरिरहन्छ । नदि खोला किनारमा डाइभर्सन गरेर अस्थायी सडक निर्माण गरिएको छ । 

अस्थायी रुपमा निर्माण भएको सडकमा सुख्खा पहिरो र ढुङ्का खसिरहने समस्या छ । पहिरो पन्छाउनका लागि घण्टौ स्काभेटर कुर्नुपर्ने समस्या छ । सवारी चाप धेरै हुनु, सडक ट्र्याक मात्र खोलिएको अवस्थामा हुनु र ट्राफिक प्रहरी समेत नहुँदा समस्यै समस्या देखिन्छ । 

विपि राजमार्ग अन्र्तगत सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । कालढुङ्गा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण रूपमा क्षति भएको छ । थलीबेसीमा पनि रोशीखोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ ।  

भकुण्डबेंसीदेखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा अस्थायी ट्र्याक निर्माण गरि संचालन भएको छ । राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि भित्तापट्टीबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो । 

जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएपछि अस्थायी सडक निर्माण गरि संचालनमा छ । अस्थायी सडकमा दैनिक घण्टौ जाम हुने गरेको छ । सरकारले सडक व्यवस्थित गर्नका लागि चासो नदेखाएको आम सर्वसाधारण गुनासो छ । 

विपि राजमार्ग पुर्न निर्माण गर्न जापानको प्राविधिक टोलीले राजमार्गमा पुगेको क्षतिबारे स्थलगत अध्ययन गरेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update