पर्सा । तराई मधेशका जिल्लाहरुमा दिपावली र छठ निकै उल्लासका साथ मनाइन्छ । यी दुवै पर्वमा माटोको दीयो अनिवार्य जस्तै हुन्छ । के धनी के गरिब सबैको घरघरमा माटोको दियो झलमल बलेपछि दिपावली र छठको छुट्टै रौनक छाउँछ । तर अहिले माटोको दीयो बाल्ने परम्परा तराई मधेशमा विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै माटोको दीयो बाल्ने परम्परा एवं संस्कृत्ति लोप हुँदै गएको हो ।
तराईमा दिपावली तथा छठ पर्वमा बालिने बालिने माटोको दीयोको प्रचलन विस्तारै लोप हुँदै गएको छ । बढ्दो आधुनिकीकरणसँगै विद्युतीय झिलीमिली बत्तीको प्रयोगले गर्दा संस्कृत्तिको रुपमा प्रयोग हुँदै आएको माटोको दीयोको परम्परा विस्तारै लोप हुने अवस्थामा पुगेको हो । दुई तीन वर्षयता देखि माटोको दीयो विक्रीमा कमी हुन थालेपछि कुम्हाल समुदाय चिन्तित बनेका छन् । पूस्तौदेखि प्रयोग हुँदै आएका माटोका दीयो, ढकना, घइँटो, हात्ती स्वरुपको कोशी विक्रीमा व्यापक कमी आएपछि यसैलाई पेशा बनाउँदै आएको कुम्हाल समुदाय चिन्तित बनेको छ ।
बढ्दो आधुनिकीकरणसँगै भारतबाट आयातित फुलबुट्टा सहितको दीयो, विद्युतीय झिलीमिली बत्ति बजारमा छ्यापछ्यापी हुन थालेपछि धेरै त्यसमै आकर्षित भइरहेका छन् । यसले गर्दापनि स्वदेशमै उत्पादन हुँदै आएको माटोको दीयो बनाउने पेशा संकटमा पर्दै गएको हो ।
माटोको दीयोप्रति मधेश तथा तराईबासीको वितृष्ण कतिसम्म छ भने दुई तीन वर्ष अघिसम्म प्रतिगोटा २ रुपैयाँमा बिक्रि हुँदै आएको दीयो यसपटक आधा कम दाममा बिक्रि गर्न खोज्दा पनि ग्राहक पाइदैनन् । स्वदेशी उत्पादन छोडेर विदेशी सामग्रीलाई महत्व दिएको देखेर कुम्हाल समुदाय रुन मात्रै सकेका छैनन् । दुई महिनाको परिश्रम र लगानीबाट बनेका माटोका दीयोहरु बिक्रि नहुँदा उनीहरुलाई सारै थकथक लागेको छ ।
पर्सा जिल्लाको ग्रामीण क्षेत्र विन्दवासिनी र पकहामैनपुर गाउँपालिका लगायतका अधिकाँश कुम्हाल समुदायका व्यक्तिहरु माटोका भाँडा र दीयो बनाएर बिक्रि गर्न वीरगञ्जसम्म पुग्ने गरेका छन् । भारत लगायतबाट ल्याइएका दीयो प्रतिगोटा १५ रुपैयामा विक्री भइरहेको छ । यता, एक रुपैयामै पाइने स्वदेशी दीयोलाई भने कसैले वास्ता नगरेको व्यापारी दुखेसो पोख्छन् ।
उपभोक्ताहरुले भारतीय दीयोलाई भाउ दिन थालेपछि कतिपय व्यापारी अर्को वर्ष भारतबाटै रेडिमेड दीयो ल्याएर बेच्ने सोचमा छन् । महंगो भएपनि भारतीय बत्ति भनेपछि उपभोक्ताले पनि सजिलै किन्ने उनीहरुको अनुभव छ । यस्तै अवस्था रहिरहे स्वदेमा हुँदै आएको दीयो उत्पादन ठप्प हुने र भारतमै आश्रित हुने अवस्था आउने व्यापारीहरुको चेतावनी छ ।