News 24 Television
सहकारी पीडितरहरू मंसिर ५ देखि निर्णायक आन्दोलनमा जाने

काठमाडौँ । हजारौँ बचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका सहकारी सञ्चालक गितेन्द्र बाबू राई (जीबी) अहिलेसम्म पनि वेपत्ता छन् । डिफ्यूजन नोटिस जारी भएको ९ महिना हुँदासम्म पनि उनको अत्तोपत्तो छैन । झण्डै ५ सय वटा सहकारी संस्थाहरु समस्यामा छन् । तर सरकारले नै समस्याग्रस्त घोषणा गरेका सहकारीकै समस्या समाधान भएको छैन । यस्तोमा लाखौं बचतकर्ता आफ्नो पैसा फिर्ता हुने हो वा होइन् भन्ने अन्यौलमा छन् । 

दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताको बचत फिर्ता गर्न नसकेको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पछिल्लो पटक समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । यो सहकारीले एक अर्ब ५२ करोड ८२ लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ । योसँगै समस्याग्रस्त सहकारीको संख्या २३ पुगेको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म तीनवटा सहकारी पीडितको मात्रै बचत फिर्ता गरी हिसाब राफसाफ गरेको छ । समस्याग्रस्त सहकारीका मात्रै ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्ब ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैयाँ बचत फिर्ता हुन बाँकी छ । यस्तोमा समस्याग्रस्त घोषणा गरेर सञ्चालकको सम्पत्ति रोक्का गरी बचतकर्ताको रकम फिर्ता गर्न कारबाही प्रक्रिया अघि बढाएकाबेला सहकारीको स्थिति झन् लथालिङ्ग देखिएको छ । सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता नहुने र सरकारले यस विषयमा गम्भिरतापुर्वक लाग्नुपर्ने भन्दै सहकारी पीडितहरूले मङ्सिर ५ गतेबाट निर्णायक आन्दोलनको तयारी थालेका छन् । 

सबैभन्दा बढी गोर्खा मिडियामा अपचलन 

सहकारी संस्थाहरूबाट अपचलन भएको २ खर्बभन्दा बढी रकममध्ये करिब १ खर्ब ६० अर्ब रुपैयाँ ५४ ठूला सहकारी संस्थाले अपचलन गरेको देखिन्छ । सबैभन्दा धेरै अपचलन गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई जीबी राई समूहबाट भएको छ । राई समूहबाट १६ अर्ब ५० करोड अपचलन भएको छ । राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको ९ महिना वितिसक्दा पनि कुनै उत्तोपत्तो छैन । 

यता, जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मीको बचत अपचलन आरोपमा अनुसन्धानका लागि नेटवर्कका तत्कालीन अध्यक्ष राईसहित २४ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको छ । हाल कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसमेत स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको अनुसन्धानको दायरामा रहेका छन् । 

स्वर्णलक्ष्मी सहकारीका ६ सय ४५ जनाले आफूहरूको १ अर्ब ११ करोड बचत रकम सहकारीका सञ्चालक, कर्मचारीसहितको मिलेमतोमा अपचलन गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्क र गोर्खा ग्रुप अफ कम्पनीसहित ग्यालेक्सी टीभीमा रकम लगेको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा प्रहरीले अनुसन्धानका लागि रामबहादुर खनाललाई पक्राउ गरेको छ । 

रूपन्देही अदालतले बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी उजुरीका आधारमा हिरासतमा रहेका रविसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको छ । जसमा पूर्वडीआईजी छविलाल जोशी र रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीको पनि नाम छ । तर, यस्तोमा सहकारीका वचतकर्ताहरूलाई भने आफ्नो बचतफिर्ता हुने हो वा होइन भन्ने चिन्तामा छन् । हुनतः सरकारले आगामी वर्ष भित्र सहकारीको समस्या समाधान गर्ने बताइरहेको छ तर ढुक्क हुने आधारहरू भने दिन सकेको छैन । 

 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update