News 24 Television
रवि र रास्वपा बार्गेनिङमा, ओली–देउवाले के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोपसँगै सरकारसँग वार्ता गरेर सम्झौताको प्रयास गरेको आरोप लाग्न थालेको छ । रास्वपाले सरकारविरुद्ध आन्दोलन गरिरहेपनि नेताहरुले तारन्तार सरकारी उच्च अधिकारीहरु भेटेर समस्या समाधानको बाटोमा जान सम्झौता गर्न लागेको भन्दै चर्चा चल्न थालेपछि रास्वपाले द्वेध चरित्र देखाएको आरोप थप तिव्र बन्न थालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछाने परिपुरक जस्ता देखिन्छन् । रविकै क्रेजमा आएको मत र बनेको पार्टी रविको हिरासत यात्रासँगै धरमराउन थालेको छ । बाहिरी आवरणमा रास्वपाले सुशासनको चर्काे नारा लगाउँदै आएको छ । अनुशासन नमान्ने पार्टी सदस्य हुनै सक्दैन भन्दै ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेर कस्सिएको रास्वपा सभापति रवि लामिछाने पक्राउ परिसक्दा लत्रिन थालेको छ । यता, आफ्नो पक्राउविरुद्ध सडकमा आइरहन अपिल गरेका रविले अदालत परिसरमै सरकारविरुद्ध चर्को अभिव्यक्ति दिइनै रहेका छन् । उनले सरकारले प्रतिशोध साँधेकाले आन्दोलन नरोकिने संकेत गरेका छन् ।

रास्वपाले संसदीय समितिदेखि सडकमा समेत सरकारको चर्को आलोचना गरिरहेको छ । सरकारले प्रतिशोध साँधेको आरोप लगाइरहेको रास्वपा आक्रामक देखिन्छ । यसरी सरकारविरुद्ध आक्रमक देखिएको रास्वपाले भित्रभित्रै भने सरकारका उच्चअधिकारीलाई भेटेर समस्या समाधानको अपिल गर्न थालेको आरोप लाग्न थालेको छ । 

एमालेको खुलेआम आरोप

रास्वपाका नेताहरुले बार्गेनिङ गर्दै रविको रिहाईका लागि बालुवाटार धाउन थालेको दाबी सत्ताको नेतृत्व गरिरहेको एमालेले गरेको छ । एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालबाटै रास्वपाका नेताहरुले सडकमा आन्दोलन गर्ने र वालुवाटारमा पनि पुगेर हारगुहार गर्ने गरेको गम्भीर आरोप लगाएका छन् । यसरी रास्वपाले वालुवाटारविरुद्ध दिइरहेको अभिव्यक्ति र व्यवहार फरक किन भन्दै सर्वसाधारणले समेत आश्चार्य व्यक्त गरिरहेका छन् । वालुवाटारमात्रै नभएर रास्वपाका उपसभापति डीपी अर्यालले पठाएको भन्दै एउटा म्यासेजको फोटो पनि सामाजिक सञ्जालमा छ्यापछ्याप छ । अर्यालले परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई सर्टटम भेटवार्ताको समय मिलाउन अपिल गरेको देखिन्छ । उसोतः रास्वपाका अर्यालसहितका नेताहरुले वालुवाटारमा पुगेर छलफल गरिसकेका छन् । प्रतिनिधिसभामा रहेका दलहरुबीच छलफल हुनु सामान्य विषय भएपनि रविको रिहाईको मागसहित चलेको यस्तो भटेले रास्वपालाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ ।

सडकमा चर्का नारा

सडकमा उत्रिएको रास्वपाले सरकारविरुद्ध चर्को नारा लगाइरहेको छ । रास्वपाले सरकार निकम्मा बनेकोदेखि सडकबाटै फाल्ने चेतावनी दिइरहेको छ । तर, सडकमा उत्रिएको रास्वपालाई सरकारले खास भ्यालू नै नदिएपछि उनीहरु चिल्लिबिल्ली भने परेका छन् । 

सडकमा उत्रिएको रास्वपाको आन्दोलनलाई केन्द्रित गर्दै प्रधानमन्त्री केपी ओलीले अराजकतालाई कुनै ठाउँ नदिने र कानूनको दायरामा ल्याउने चेतावनी दिइरहेका छन् । यसले पनि सरकार आक्रामक बन्न थालेको विश्लेषण हुन थालेको छ । अझ सडकमा सरकारविरुद्ध चर्को नारा लगाउने र त्यहि सरकारसँग रिहाईको अनुनय गर्नुले रास्वपाले द्वेध चरित्र देखाएकोदेखि वैकल्पिक राजनीतिको अवसान भएको समेत विश्लेषण हुन थालेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update