कास्की । गृहमन्त्री रमेश लेखकले सहकारी पीडितको न्यायका लागि सरकारपछि नहट्ने र संसदीय समितिले दिएको निर्देशन अनुसार जो कोही भएपनि अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले थुनामा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्रीप्रति कुनै प्रतिशोध नभएको समेत स्पष्ट पारेका छन् ।
सहकारी ठगी तथा संगठित अपराधको आरोपमा रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने कास्की कारागारमा मुद्दा पुर्पक्षका लागि थुनामा नै छन् । यसै अवस्थामा रास्वपाले भने रविप्रति राजनैतिक प्रतिशोध राखिएको भन्दै सरकारको विरोधमा सडकमा प्रदर्शन गरिरहेको छ ।
यो परिस्थितिका बीच मुस्ताङबाट काठमाडौँ जाने क्रममा पोखरा पुगेका गृहमन्त्री रमेश लेखकले रवि लामिछानेप्रति इङ्कित गर्दै कोही पनि व्यक्तिलाई प्रतिशोधका आधारमा पक्राउ नगरिएको बताएका छन् ।
पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बुधबार उनले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले रास्वपाका सांसद समेत सदस्य रहेको सहकारी सम्बन्धी संसदीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनको आधारमा सहकारी ठग तथा संगठित अपराधका आरोपीहरूलाई गृह मन्त्रालयले समितिकै प्रतिवेदनको आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
त्यस्तै जिबी राईलाई कहिले पक्राउ पर्छन् भन्ने प्रश्नमा उनले राईको खोजी कार्य र नेपाल ल्याउने प्रक्रिया तीव्रताका साथ अगाडि बढिरहेको र खोजीका विषयमा पक्राउ नगरिकन कुनै पनि सूचना सार्वजनिक गर्न तथ्यपरक नभएको समेत बताए ।
सरकारले सहकारी ठगी प्रकरणका दोषी र आरोपीलाई कारबाहीको प्रक्रियामा ल्याउने मात्र काम नगरेको बताउँदै सहकारी पीडितहरूले रकम कसरी फिर्ता पाउँछन् भन्ने विषयमा समेत फास्ट ट्र्याकबाट काम अगाडि बढाएको मन्त्री लेखकले दाबी गरे ।
पोखरा आउनु पहिला गृहमन्त्री लेखकले मुस्ताङ जिल्लामा पर्ने नेपाल चीन सिमाना कोरोना नाकामा अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए ।
भारतले लगाएको नाकाबन्दीपछि निकै चर्चामा आएको यो नाकाबाट अब नेपालीहरू चीन जान र चिनिया नागरिकहरू नेपाल आउन सहजै सक्ने भएका छन् ।