काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताएका छन् ।
बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको दाबी गरे । तर पनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको उनको भनाइ छ । वैद्यखानाले देशको माग पूरा गर्नसके बाहिरी मुलुकबाट आयात हुने औषधि बन्द गर्ने उनले बताए ।
मन्त्री पौडेलले औषधिको उत्पादन बढाएमा बिक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए । सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा अब नपाउने उनको भनाइ छ । अब पनि सिंहदरबार वैद्यखानालाई टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै सबै मिलेर उकास्नुपर्ने मन्त्री पौडेलले जोड दिए ।
उनले सबै मिलेर वैद्यखाना उकास्ने संकल्प गर्न आग्रह समेत गरे । वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको उनको भनाइ छ ।