News 24 Television
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण चीन, भारतलाई साइजमा ल्याउने प्रयास

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको तयारी तीब्र पारेका छन् । दक्षिणी छिमेकी भारतले वास्ता नगरेको बेला ओलीले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनलाई बनाउन खोजेका छन् । 

कतिपयले चीन गएर भारतलाई साइजमा ल्याउन ओलीले रणनीति अख्तियार गरेको दाबी गरेपनि ओलीको चीन भ्रमण कस्तो हुन्छ भन्ने चासो बढेको छ । 

चीन प्रधानमन्त्री केपी ओलीलाई औपचारिक निमन्त्रणा दिएर पहिलो विदेश भ्रमण गरेको सन्देश दिन अघि सरेको छ । दक्षिणी छिमेकी भारतसँगको सम्बन्धमा सुधार ल्याउन नसकेका प्रधानमन्त्री ओलीले गर्ने चीन भ्रमणको उपलब्धि र सत्ता गठबन्धनमा त्यसले पार्ने प्रभावबारे समेत विश्लेषण हुन थालेको छ । 

ओलीले अमेरिकामा रहेको बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेपनि त्यसले गति र सम्बन्ध सुधारमा काम गर्न नसकेपछि ओलीले चीन भ्रमणमा जाने तयारी अन्तिममा पु¥याएको बताइन्छ । 

मंसिर तेश्रो साता चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायलाई सक्रिय पारेका ओलीले चिनियाँ महत्वकांक्षी परियोजना बीआरआई परियोजनाको प्रगति विवरण समेत अध्ययन गर्न लगाइसकेका छन् । यस्तोमा ओलीले गरेको तयारीपछि भारतले के गर्ला भन्ने चासो समेत उत्तिकै बढेको छ । 

सत्ता गठबन्धनमा सन्तुलनको खाँचो

सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग चीनको खास सम्बन्ध छैन । सबै दल र नेताहरुसँग औपचारि सम्बन्ध स्थापित गर्ने चिनियाँ रणनीतिमा कांग्रेस छिट्टै तयार हुने स्थिति छैन । 

उता भारत र अमेरिकासँग कांग्रेसको निकट सम्बन्धका कारण पनि कांग्रेसलाई पत्याइहाल्ने स्थितिमा चीन छैन । यस्तोमा कांग्रेस बीआरआई परियोजनामा समेत कट्टर बनिरहेको बेला ओलीको चीन भ्रमणलाई कांग्रेसले समेत चासो देखाइरहेको छ । 

त्यसैले परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस सभापति पत्नी आरजु राणा देउवाले समेत चीनले बोलाए जाने बताइसकेकी छन् । परराष्ट्रमन्त्रीको यस्तो धारणा ओलीको चीन भ्रमणको पुर्वतयारी अघि आउनु र बीआरआई परियजनामार्फत पोखरा अन्तराष्ट्रिय विमानस्थललाई राखेर ऋणलाई अनुदानमा परिणत गर्न चीन लगभग सकारात्मक बन्नुले माहोल थप सुदृढ बन्न पुगेको बताइन्छ । 

यस्तोमा प्रधानमन्त्री ओली पनि चीन भ्रमणलाई लिएर उत्साहित देखिन्छन् । यसरी सत्ता गठबन्धनमा पनि सन्तुलन मिल्ने गरि ओलीले चीन भ्रमण गरेमा त्यसले पक्कैपनि भारतलाई प्रभाव पार्ने विश्लेषकहरुले बताउने गरेका छन् । 

भारतको आनाकानी

भारतले प्रधानमन्त्री केपी ओलीलाई खास महत्व दिन चाहेको देखिन्न । हुनत प्रधानमन्त्री ओलीको सम्बन्ध पनि खासखास समयमा उतारचढावपूर्ण नै हुने गर्छ । पछिल्लो समय सीमा विवाददेखि कुटनीतिक रुपमा पनि ओलीले दिने अभिव्यक्तिले भारत चिढिएको देखिन्छ ।

यस्तोमा भारतले नेपाललाई दिने औपचारिक भ्रमणको निम्तो अहिलेसम्म प्राप्त नहुनुले पनि शंका स्वभाविक देखिन्छ । 

यसअघि भारतले आफ्नो देशमा नै पहिलो भ्रमण हुने गरि दबाब दिने गरेको कतिपयले तर्क गर्ने गर्छन् । तत्कालीन समयमा पनि प्रचण्डले चीन जाने कार्यक्रम रद्द गरेर पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए ।

त्यसो त ओलीपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री आन्तरिक रोलक्रममा रहेका कारण पनि ओलीलाई भारतले उति भाउ नदिएको विश्लेषकहरुको टिप्पणी छ ।  

सम्झौता र भ्रमण

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई परियोजनाको फ्रेमवर्कमा सम्झौता हुने विश्वास गरिएको छ । बीआरआई परियोजनामा अघिल्लो सरकारले नै हस्ताक्षरको अन्तिम तयारी गरेपनि केहि समझदारी नहँुदा रोकिएको थियो । 

यो पटक चीनले पोखरा अन्तराष्ट्रिय विमानस्थललाई बीआरआई परियोजनामार्फत ऋणलाई अनुदानमा परिणत गर्ने संकेत दिएपछि नेपाली पक्ष हौसिएको छ । 

यस्तोमा रेल कनेक्टीभिटीदेखि अन्य औद्योगिक सहमतिको प्रस्तावमा हस्ताक्षर हुने गरि भ्रमण र सम्झौताको तयारी भएपछि यसले उत्साह थप्ने विश्वास समेत गर्न थालिएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update