मुगु । भेडा पालनबाट जिविकोपार्जन गरिरहेका मुगुका किसान अज्ञात रोगबाट भेडा मर्न थालेपछि चिन्तित बनेका छन् ।
अर्थोपार्जनको मुख्य स्रोत बनिरहेको भेडा पालन अज्ञात रोगको सिकार वन्दा किसानमात्रै समस्या परेका छैनन्, परिवार र स्थानीय अर्थतन्त्रमा समेत धक्का लाग्ने सम्भावना बढेको छ ।
२ महिना यता भेडाहरु चरण क्षेत्रमा चर्दाचर्दै पेट फुलाउने, सिगान निकाल्ने, टाउको घुमाउने, हिडेको हिडै गर्ने, पातलो दिशा गर्ने जस्ता लक्षण देखिन थालेको थियो । लक्षण देखिएको २, ४ घण्टामै भेडा मर्ने गरेको किसानको भनाई छ । प्रत्येक किसानका ४÷५ वटादेखि २० वटासम्म भेडा मरेको भन्दै किसानहरु चिन्तित बनिरहेका छन् ।
अहिलेसम्म झ्यारी गाँउमा मात्र एक सय ५० भन्दा बढी भेडा मरेका छन । भेडा मर्नुको कारण र यसको समाधान कसरी खोज्ने भन्नेमा किसानहरु अलमलमा देखिन्छन् ।
यता पशु अस्पताल तथा पशु सेवा कार्यालयले मरेका भेडाहरुको रगत, दिशा, आन्द्रा, मुटु, फोक्सो र अन्य केही भागहरु पशुपन्छि प्रयोगशाला सुर्खेतमा परिक्षणको लागि पठाइएको र परिक्षण रिपोर्ट आएपछि उपचारबारे कदम चालिने बताएको छ ।
भेडा पकेट क्षेत्र मानिएको मुगु जिल्लाको खमाले, कोटीला, लमेरा, सेरी, जाम, जम्फै, गम्था, श्रीकोट, रोल, सोरुकोट, धैनकोट, गिलाह, रारा, मुर्मा, पिना, कोटीला, मुन्दु, रोवा, सोभा, बाम लगाएतका ५ सय भन्दा बढी घर धुरीमा भेडाको संख्या ३५ हजार ५ सय भन्दा बढी रहेको तथ्याङ्गक छ । तर, भेडा मर्न थालेपछि कतै किसानहरु समस्यामा पर्न त होइनन भन्ने चिन्ता समेत बढेको छ ।