News 24 Television
सरकार असफल भए पनि अहिले नै ढाल्ने पक्षमा छैनौँ : अध्यक्ष दाहाल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।

मंगलवार उनले सरकारको सय दिन असफल रहेको बताउँदै सरकार निर्माणको प्रक्रिया नै सही नभएको जिकिर गरे । उनले सरकार निर्माणको उद्देश्य नै गलत रहेको भन्दै वर्तमान सरकारले राष्ट्र र जनताको पक्षमा धेरै काम गर्न सम्भव नरहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिले नै वर्तमान सरकार ढाल्ने पक्षमा माओवादी केन्द्र र आफू नरहेको भन्दै सरकार ढालेर जनतालाई पुनः हैरान बनाउने मनशाय नरहेको बताए । सरकारले जनताका लागि काम नगरेको भन्दै सरकार राम्रो उद्देश्यमा नै आधारित नदेखिएको उनले दाबी गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकारको सय दिनको कुरा जहाँसम्म छ, अब सरकार गठन नै जुन विधि, प्रक्रिया र उद्देश्यले गरियो, यो राष्ट्र र जनताको पक्षमा धेरै गर्न सम्भव छैन भन्नेकुरा त मैले शुरुमा नै भनेको थिएँ । यसले सरकार गठनको दिगो हिसावले, प्रक्रियाको हिसावले, समयको हिसावले, ठाउँको हिसावले भनेर भनेको थिएँ । नभन्दै सय दिनसम्मको हेर्दा यो सरकार सफल भएको मान्न सकिँदैन । सरकार असफल नै छ । तर फेरि सरकार त बनेकै छ । मैले यो कुरा पनि भनेको छु की सरकार राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील होस् । र सकारात्मक काम गरेर जाओस् भन्ने छ । यो सरकार अहिले नै ढाल्नुपर्छ भन्ने माओवादी केन्द्रको र मेरो कुनै मनशाय छैन । किनभने त्यसो गरेर फेरि जनतालाई हैरान पार्ने भन्दा यही सरकारले राम्रो गर्दिए हुन्थ्यो भन्ने छ । तर यो सरकारले राम्रो गरिरहेको छैन । र यो राम्रो उद्देश्यमा नै आधारित देखिएको छैन । जुन किसिमको तरिकाबाट आएको छ, त्यहाँ मलाई शंका छ र त्यो शंका मेरो रही राख्छ ।’

उनले राष्ट्र र जनताप्रति अझ गम्भीर र संवेदनशील बन्न सरकारलाई सुझाव दिँदै जनताको पक्षमा सकारात्मक काम गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update