काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री निवास नजिकमा बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि प्रहरीले धरपकड गरेको छ । आफ्ना सभापति रवि लामिछानेलाई थुन्ने सरकारको प्रतिशाेधपूर्ण नियत रहेको भन्दै रास्वपाले रविको रिहाइका लागि दबाबस्वरुप उक्त प्रदर्शन आयोजना गरेको हो । तर शान्तिपूर्ण प्रदर्शनमा पनि प्रहरीले हस्तक्षेप गर्दै रास्वपा करिब १ दर्जन नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।
मंगलबार १२ बजेका लागि बालुवाटारस्थित नेपाल हाउस क्षेत्रमा प्रदर्शन तय गरेको रास्वपाका केही नेता कार्यकर्ता त्यसअगावै उक्त क्षेत्रमा पुगेका थिए । तर प्रहरीले उनीहरुमध्ये करिब १५ जनालाई सुरुमै नियन्त्रण लियो । त्यसपछि बाक्लो संख्यामा खटिएका सुरक्षाकर्मीले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शनकारीलाई रोकेको छ ।
शान्तिपूर्ण आन्दोलनमा समेत धरपकड गरेपछि उक्त क्षेत्रमा भेला भएका रास्वपा नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । प्रहरीले निषेधित क्षेत्रमा प्रवेश नगर्न चेतावनी दिँदै पक्राउ गर्ने धम्की दिइरहेको छ भने शान्तिपूर्ण विरोध प्रदर्शनलाई बिथोल्ने गरी प्रहरीले दमन र गिरफ्तारी गरेको भन्दै रास्वपाले विरोध जनाएको छ ।