कास्की । चाडपर्व र बढ्दो डेङ्गु संक्रमणका कारण पोखरामा रगत अभाव देखिएको छ । अहिले रक्तसञ्चार सेवाबाट दैनिक रूपमा पोखरा तथा आसपासका क्षेत्रमा ७० देखि ८० युनिट रगत खपत हुने गर्दछ । रगत अभावले अस्पतालमा उपचाररत विरामीलाई नै असर गर्ने अवस्था आएपछि अहिले पोखरामा सार्वजनिक रुपमा रक्तदानका लागि आह्वान गरिएको छ ।
डेङ्गु संक्रमण बढ्दो क्रममा रहेको र यसै समय चाडपर्व परेकाले रक्तदानमा कमी आउँदा पोखरामा रगत अभाव देखिएको छ । दशैंसहितका चाडपर्वका कारण सामान्य समयको तालिकाअनुसार रक्तदान कार्यक्रम हुन सकेका छैनन् । डेङ्गुका बिरामी बढेकाले अन्य समयभन्दा रगतको आवश्यकता अहिले बढी छ । रगत अभावले अस्पतालमा उपचाररत बिरामीलाई नै असर गर्ने अवस्था आएपछि रेडक्रस सोसाइटी अन्तर्गतको रक्तसञ्चार सेवाले सार्वजनिक रुपमा रक्तदानका लागि आह्वान गरिसकेको छ । अहिले मुख्यतः डेङ्गु र चाडबाडका कारण रगत अभाव देखिएको बताउँछन् प्रादेशिक रक्तसञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवाली ।
पोखरामा रगत अभाव देखिएसँगै अहिले विभिन्न संघसंस्था तथा क्लबहरूले रक्तदान कार्यक्रमको आयोजना गरिरहेका छन् । रगतका लागि मानव स्रोत बाहेक अरूको विकल्प छैन । रगत अभावको सूचना आएसँगै पोखरामा दिनहुँ रक्तदान कार्यक्रम आयोजना हुन थालेको छ र रगत दिनेहरू स्वस्फूर्त जान थालेका छन् ।
रक्तदानलाई जीवनदानको रूपमा हेर्ने गरिन्छ । एक पोका रगतले अरु कसैको ज्यान समेत बचाउन सकिन्छ । नियमित रक्तदान गर्नु स्वास्थ्यको लागि पनि लाभदायक रहेको स्वास्थ्यकर्मीहरू सुझाउँछन् । रक्तदान गर्दा कसैको जीवन बच्ने र आफ्नो स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकाले ३÷३ महिनामा नियमित रक्तदान गर्नुपर्ने प्रादेशिक रक्त सञ्चार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी बताउँछन् ।
अहिले रक्तसञ्चार सेवाबाट दैनिक रूपमा पोखरा तथा आसपासका क्षेत्रमा ७० देखि ८० युनिट रगत खपत हुने गर्दछ । यसलाई पूरा गर्न महिनामा २ हजार देखि २५०० सम्म जम्मा गर्न सक्ने हो भने सजिलै पु¥याउन सक्ने अवस्था रहने प्रादेशिक रक्त सञ्चार सेवाले जनाएको छ ।
रगतको अभाव देशमा कुनै विशेष परिस्थिति सिर्जना भयो भने हुने गर्दछ । तर अहिले प्राय मानिस चाडबाडका कारण गाउँ गएकाले सामाजिक सेवाको कार्य नियमित नहुँदा रगत अभाव देखिएको र बढ्दो डेङ्गु संक्रमणले थप समस्या निम्त्याएको रक्तसञ्चार सेवाले जनाएको छ ।