रुपन्देही । ट्रंकलाइन र डेडिकेटेड लाइन प्रयोग गरेवापत्को विद्युत महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले मुलुकभरका ४३ वटा उद्योगका लाइन काटेको थियो । जसमध्ये १८ वटा उद्योग रुपन्देहीका मात्रै छन् । यसमध्ये केहीले किस्ताबन्दीमा रकम बुझाएका छन् भने ११ उद्योगले भने माग र खपतको प्रमाण नदिएसम्म नबुझाउने अडान लिएका छन् । प्राधिकरणले लाइन काटिदिएपछि बन्द भएका यी उद्योगहरुबाट सयौं मजदुरको रोजगारी गुमेको छ भने दैनिक करोडौं राजश्व समेत प्रभावित भएको छ ।
दैनिक ५ करोड मूल्य बराबरको फलामे डण्डी उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमामा रहेको पंचकन्या स्टील प्रालि बिहीबार रातिदेखि बन्द छ । पंचकन्या समूहद्वारा संचालित अर्को उद्योग पंचकन्या प्लाष्टिक इण्डष्ट्रिजको पनि उत्पादन ठप्प छ । यो उद्योगले दैनिक ७५ लाख मूल्यका प्लाष्टिकजन्य वस्तुको उत्पादन गथ्र्यो । बन्द हुँदा यी दुई उद्योगबाट मात्रै भ्याट, भन्सार महशुल, अन्तशुल्क, विद्युत महशुल गरी दैनिक करिब दुई करोड सरकारी राजश्व गुमिरहेको छ । त्यो भन्दा महत्वपूर्ण कुरा यी उद्योगमा कार्यरत करिब ७ सय कर्मचारीको रोजगारी गुमेको छ ।
ट्रंकलाइन महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले गत बिहीबार राति लाइन काटिदिएपछि उद्योगको उत्पादन रोकिएसँगै कर्मचारीको समेत रोजगारी गुमेको हो । महशुल तिर्न दवाव दिँदै आएको प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुलाई माग, खपत र टं«कलाइन जडानका लागि प्राधिकरणले दिएको स्वीकृत उपलब्ध गराउन सकेको छैन । विना प्रमाण पटक–पटक लाइन काटिँदा आफूहरु अन्यायमा परेको उद्योगीको गुनासो छ ।
प्राधिकरणले मुलुकभरका ४३ वटा उद्योगका लाइन काटेकोमा रुपन्देहीका मात्रै १८ वटा उद्योग छन् । केही उद्योगले महशुलको किस्ता तिर्न सुरु गरे भने भैरहवा–बुटवल कोरिडोरका ११ उद्योगले नतिर्ने अडान लिएका छन् । प्राधिकरण आफैले २०७३ पछि कुनै पनि उद्योग वा संघसंस्थामा डेडिकेटेड र ट्रंकलाइन नदिने, यदि दिनैपरे प्राधिकरणको संचालक समितिबाट निर्णय गराउनु पर्ने नियम बनाएका थियो । तर, २०७८ मा आएर ४ वर्ष पछि २०७४ चैतदेखि २०७६ सम्ममा भैरहवा–बुटवल कोरिडोरका उद्योग ट्रंकलाइनमा परेको भन्दै माग र खपतको प्रमाणविनै महशुल तिर्न दवाव दिन सुरु गरेको उद्योगीको आरोप छ । प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न भन्दै केही दिनका लागि सटडाउन लिई भरौलियाबाट विद्युत आपूर्ति गरेको उद्योगी बताउँछन् ।
त्यसअघि रुपन्देहीको अमुवा फिडरबाट यस क्षेत्रमा ३३ केभीए प्रशारण लाइनबाट विद्युत आपूर्ति हुँदै आएको थियो । यसलाई ट्रंकलाइन भनेर उद्योगीलाई अहिले हैरानी पारिरहेको उद्योगीले बताए । पछिल्लो पटक प्राधिकरणले लाइन काट्दा ५ दिन यता उद्योगको उत्पादन समेत ठप्प छ । तर, प्राधिकरणले महशुल नतिर्दासम्म लाइन नजोड्ने अडान लिइरहेको छ भने उद्योगीले पर्वका बेला उद्योगीदेखि मजदुरसम्मलाई प्राधिकरणले विचल्ली बनाएको बताएका छन् ।
प्राधिकरणले उद्योगीलाई ट्रंकलाइन प्रयोग गरेको भनिएको अवधिमा दैनिक ८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका थिए । तत्कालीन समयमा चरम लोडसेडिङ भोगिरहेका बेला आफ्नो फिडर मिलाउँदा नियमित विद्युतलाई ट्रंकलाइन प्रयोग गरेको भनेर प्राधिकरणले मर्कामा पारेको उद्योगीको गुनासो छ । प्राधिकरणले आफ्नो लेजरमा यो उद्योगको यति रकम तिर्न बाँकी छ भनेर लेखेको बाहेक भैरहवा–बुटवल औद्योगिक कोरिडोरका उद्योगहरुले विद्युत् प्रयोग गरेको कुनै प्रमाण दिन सकेको छैन ।
यसले गर्दा पनि अन्य उद्योगसरह यहाँका उद्योगलाई राखेर हेरिनु अन्यायपूर्ण देखिने भन्दै उद्योगी आपत्ति जनाउँछन् । उद्योगले प्रमाण दिए भुक्तानी गर्छौं भनिरहँदा प्राधिकरणले प्रमाण दिन नसक्नु पनि शंकास्पद नै छ । त्यसैले उद्योगका सवालमा सरकारले समयमै विशेष ध्यान दिनुपर्ने हुन्छ । प्राधिकरणको एककोहोरो दावी गरिरहँदा अर्बौं लगानीका उद्योग धरासायी हुने, हजारौंको रोजगारी र राज्यको करोडौं राजश्व गुम्ने अवस्था सिर्जना हुनेछ ।