काठमाडौँ । केपी ओली नेतृत्वको सरकारको सय दिन लगत्तै अनेक आशंका व्यक्त गर्न थालिएका छन् । केपी ओली नेतृत्वको सरकार लामो समय नजाने भन्दै चलिरहेका हल्ला र प्रधानमन्त्री आफैले दिइरहेको स्पष्टीकरणले सर्वसाधारणमा शंका उब्जाएको छ । मुलुकको राजनीति किन विश्वास र मान्यतामा अडिन सकेन ? के गठबन्धन संस्कृति विकृत बन्दै गएको हो त ?
सरकार कहिलेसम्म ? केपी ओली नेतृत्वको सरकार लामो समय जाला त ? यस्ता थुप्रै प्रश्न र राजनीतिक धारणा बन्नेक्रम चलिरहन्छ । आफ्नै पार्टीको झण्डै दुई तिहाई जोगाउन नसकेका ओली गठबन्धन संस्कृतिमा इमान्दार छैनन्, भन्ने भाष्य बन्न पुगेको छ । यता, प्रमुख प्रतिपक्षी दलदेखि अन्य दलहरुले पनि सरकार लामो समय नजाने दाबी गरिरहन्छन् । अझ प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त सरकार आफै कुहिएर ढल्ने दाबी गरिरहेका छन् ।
माओवादीले जस्तै अन्य दलहरु पनि सरकार लामो समय नजाने दाबी गरिरहेका छन् । हुनपनि प्रधानमन्त्री ओली आफ्नै पार्टीको झण्डै दुई तिहाई जोगाउन नसक्दा प्रतिपक्षमा पुगेको लामो समय भएको छैन भने ओलीलाई प्रधानमन्त्री बनाएका नेताहरुले नै सत्ता सहज हस्तान्त्रण गर्न नखोज्दा मोर्चावन्दी समेत गरेको पाइन्छ । यस्तोमा ओलीले सत्ता हस्तान्तरणको विषयमा नै पटक–पटक प्रष्टीकरण दिनुपरेको छ । ओलीले कांग्रेससँगको सहमति कार्यान्वयनको विषय उठाउदै देउवालाई सत्ता हस्तान्तरण समयमै गर्ने जिकिर गरिरहेका देखिन्छन् ।
सरकार बनाउने, भत्काउने प्रयास संसदको अंकगणित पनि प्रमुख हो । राजनीतिक प्रणाली र भूराजनीतिको प्रभाव वलियो हुने भएकाले पनि सरकार लामो समय नजानेदेखि गठबन्धन अदलबदली हुने विषय तीब्र रुपमा बढेको देखिन्छ । अघिल्लो पटक प्रधानमन्त्री प्रचण्डले नै गठबन्धन फेर्ने विषयमा रेकर्ड नै बनाए । एमाले, कांग्रेस, एमाले गरेका प्रचण्डले अन्तिममा सत्ता नै छाड्नु प¥यो । यस्तो राजनीतिले मुलुक कहिले बन्ला ? भन्दै प्रश्न गर्ने नेताहरु नै पुस्तान्त्रणको बारेमा सोच्न फुर्सद नहुने र सरकार कहिलेसम्म जाला भन्ने सोच्नुपर्नेमै समय वित्ने कांग्रेस महामन्त्री गगन थापाको बुझाई छ ।
सत्ता राजनीति अस्थिर बन्दा विकासले गति समात्न नसकेको र स्थिरता कायम गर्न नसकिएकोमा प्राय दलका नेताहरु सहमत देखिन्छन् । सत्ताबाट बाहिरिएपछि प्रतिपक्षी दलका नेता प्रचण्डले पनि स्थिरता अभावले मुलुकले विकासको गति लिन नसकेको बताइसकेका छन् ।
सत्ता केन्द्रित राजनीति र प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउन कठिन ठान्ने नेपाली राजनीतिक प्रणालीमा प्रधानमन्त्री ओली पनि सन्देहपूर्ण अवस्थामा छन् । प्राय उनी सत्ता गठबन्धन लामो समय जान्छ भन्नेमै समय व्यतित गर्नुपर्ने स्थितिमा छन् ।
ओलीलाई सत्ता जतिबेला पनि छाड्नुपर्छ भन्ने मानसिकता र आपसी विश्वासमा कमी भएकै कारण उनि स्पष्टीकरणमा समय खर्चिइरहेका छन् । आफ्नो दलको एकल बहुमत नभएको र मिलिजुली सरकारको भर नहुनेमा सचेत ओली पछिल्लो समय सरकार ढल्दैन, पुरा कार्यकाल जान्छ भन्नेमा नै वक्तव्यबाजी गर्नुपर्नेमा तल्लिन छन् । यस्तो किन र कसरी भइरहेको छ ? के यस्तो ओलीको पालामा मात्रै हो ? पक्कैपनि होइन् । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि स्थिति यस्तै थियो । अझं, त्यो बेला प्रचण्ड आफ्नो दललाई कसैले पाखा लगाउन नसक्ने भन्दै सत्ताको चाबी आफ्नो हातमा रहेको दाबी गर्थे । माओवादी केन्द्रसँग जादुयी नम्बर छ भन्दै कुर्लिन्थे ।
संसदीय अंकगणित, राजनीतिकर्मीको आचरण, गठबन्धन संस्कृति, आपसी विश्वास, मुलुकप्रतिको दायित्व र जिम्मेवारीबोधमा देखिएको कमीले नै नपाल गठबन्धन संस्कृतिमा अडिन सकेको देखिन्न । यतिमात्रै नभई आफ्नै दलको बहुमत समेत जोगाउन नसकेका प्रधानमन्त्री ओली सरकारको स्थायित्वमा चिन्तित हुनु अस्वभाविक भने होइन् । तर, यसरी चलिरहेको राजनीतिले समस्या भने पैदा गरिदिएको छ ।