काठमाडौँ । चर्चित सहकारी ठगी प्रकरणमा विपक्षी दल रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप छ । यसैबेला सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेकै नेताहरु पनि सहकारी ठगीमा प्रत्यक्ष जोडिएका छन् । तर उनीहरुमाथि सरकारले अनुसन्धानसम्म नगरेर संरक्षण गरिरहेको आरोप पनि लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा जोसुकैमाथि अनुसन्धान हुने बताइरहँदा सत्ता गठबन्धनकै आरोपितमाथि अनुसन्धान एवं कारबाही गर्ने चुनौती थपिएको छ ।
सत्ता साझेदार काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दलका हुन् कि पुराना दलका, जोसुकै भए अनुसन्धान हुनुपर्ने बताए । ठगी तथा हिनामिनामा नाम जोडिएपछि जुन पार्टीको भए पनि अनुसन्धान गरी दोषी देखिएमा दण्डित गर्न सरकारलाई उनले आग्रह गरेका हुन् । कांग्रेस, एमाले, रास्वपा, राप्रपा होस् कि पाँचपटक प्रधानमन्त्री भएको मान्छे होस्, कानुनभन्दा माथि कोही पनि छैन भन्ने कुरा प्रधानमन्त्री ओलीले व्यवहारमा लागु गरेर देखाउन उनले चुनौती दिएका छन् ।
यसअघि गगन थापाले पूर्व–गृहमन्त्री समेत रहेका रविमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन निरन्तर अडान राखेका थिए । उक्त समितिले रविलगायत काँग्रेसका धनराजको नाम समेत प्रतिवेदनमा उल्लेख गरेको छ । तर सरकारले रविको सहकारी ठगीमा प्रत्यक्ष संलग्नता नदेखिँदा समेत पक्राउ गरेको छ भने उस्तै केसमा जोडिएका धनराजलाई पक्रेको छैन । रविमाथि राजनीतिक प्रतिशोध साँध्नकै लागि गगन लगायत काँग्रेसका नेता–सांसदहरुले कारबाहीको माग गर्दै आएका थिए । यही मागमा संसद अवरोध गर्नेदेखि संसदमा आवाज उठाउनेमध्ये गगन नै अग्रणी थिए ।
रविकेन्द्रित अनुसन्धान तथा संसदीय समिति गठन गरेको सरकारले काँग्रेस र एमालेकै आरोपितबारे मौनता साँधेको छ । प्रधानमन्त्री ओलीले सरकारका १०० दिनका उपलब्धि सार्वजसिनक गर्ने क्रममा सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको जिकिर गरेका थिए । उनले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही शुरु भएको र हालसम्म ६ सय जनालाई कानूनी कारवाही गरिएको बताए । भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभएर कानूनलाई गुरु मानेको समेत उनले भनेका थिए ।
तर काँग्रेस–एमालेको सरकारका लागि केवल रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नु नै उपलब्धि देखिएको छ । सहकारी ठगीमा संलग्न जीबी राईजस्ता मुख्य अभियुक्त फरार छन् भने साना आरोपितहरुलाई अघिल्लो सरकारले नै पक्राउ गरेर कारबाही सुरु गरिसकेको थियो । संसदीय छानबिन समितिले नै अनुसन्धान गर्न सिफारिस गरिसकेका धनराज र उनकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको १५ करोड रकम हिनमिनामा जोडिएका छन् । यसबारे अनुसन्धान गर्न बागमती प्रदेश सरकार र सहकारी सञ्चालकसमेतले धनराज दम्पतीविरुद्ध प्रहरीमा जाहेरी दिइसकेका छन् । तर उनीहरुमाथि सत्ताकै आडमा अनुसन्धान हुन सकेको छैन ।
एमाले सांसद एवं संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि मोरङको उमागौरी सहकारीको ११ करोड रकम हिनामिनामा जोडिएका छन् । उनकी पत्नी अञ्जलासहित सहकारी सञ्चालकविरुद्ध जाहेरी दर्तापश्चात कालोसूचीमा पर्दा समेत उनीहरुमाथि पनि अनुसन्धान गरिएको छैन । यसरी सहकारीको रकम अपचलनमा प्रत्यक्ष जोडिएर उजुरी पर्दा समेत सत्तारुढ दल काँग्रेस–एमालको संरक्षण पाइरहेका धनराज–ऋषिकेहरुमाथि प्रधानमन्त्री ओलीले अनुसन्धान गरी कारबाही गर्न सक्लान् त ?