News 24 Television
रविको दुर्व्यवहारबारे प्रहरीको प्रष्टीकरण, प्रधानमन्त्री ओलीको दनक प्रचण्डलाई !

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेर हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि दुव्र्यवहार भएको खबर बाहिर आयो । दोस्रोपटक म्याद थपेर कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेलाई हिरासतमा अपमान एवं दुव्र्यवहार गरिएको, प्रहरी अधिकृतहरुले आदरार्थी शब्दको प्रयोग नगरेका लगायतका आरोप लागेपछि कास्की प्रहरीले यसबारे प्रष्टीकरण दिएको छ ।

आइतबार कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले एक विज्ञप्ति निकाल्दै रविमाथि हिरासतमा कुनै अपमानजनक व्यवहार नभएको बताएका छन् । उनले अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुव्र्यवहार गरेको भन्नेजस्ता कुरा भ्रामक र कपोकल्पित रहेको बताएका छन् । नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य–मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न कास्की प्रहरी प्रतिबद्ध रहेको बताउँदै उनले बाहिर आएका तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूमा विश्वास नगर्न आग्रह गरेका छन् । 

कार्तिक २ गते पक्राउ परेका लामिछानेलाई पहिलोपटक ६ दिन र दोस्रोपटक ७ दिन म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । तर उनको हिरासत बसाइ लम्ब्याउने उद्देश्यले प्रहरी र सरकारी वकिलले आवश्यक बयान नलिईकन अल्झाउने काम मात्र गरिरहेको आरोप रास्वपाका नेताहरुले नै लगाएका छन् । दिनमा २–३ वटा प्रश्न मात्र सोध्ने गरेको, प्रश्नहरु दोहो¥याउने गरेको, अनुसन्धानको तयारीविनै पक्रेर थुनेको र हिरासतमा लामो समय राख्ने नियत देखाएको आरोप लागेको हो । रवि पक्षका वकिलले समेत प्रहरीबाट केवल थुन्ने नियतले अपमानजक व्यवहार र पेलान भइरहेको दाबी गरेका थिए । रविलाई भवनको माथ्लो तल्लामा रहेको गार्ड सुत्ने कोठामा अलग्गै राखिएको छ, जहाँ अन्य कैदीबन्दी छैनन् । हिरासतभित्र उनी पुस्तक पढ्दै, डायरी लेख्दै र भेट्न पाउने समयमा शुभेच्छुकहरुलाई भेट्दै दिन कटाइरहेको बताइएको छ । 

प्रहरीले रविको हिरासत बसाइ सामान्य रहेको बताइरहे पनि उनलाई हिरासतमुक्त गर्न भने अनिच्छा देखाएको छ । कुल १३ दिनको म्याद सकिएपछि पुनः म्याद थप्ने भित्री तयारी रहेको बुझिएको छ । सोही कारण रविको रिहाइका लागि सर्वोच्च अदालतमा बन्दी प्रतक्ष्यीकरणको रिट दर्ता गराउने तयारी भइरहेको छ । यसैका लागि रविपत्नी निकीता पौडेल आइतबार काठमाडौँ आएकी छन् । रास्वपा नेताहरु समेत रविको रिहाइका लागि दिनहुँ आन्दोलन र विरोध प्रदर्शनमार्फत दबाब दिइरहेका छन् । सहकारी ठगीमा प्रत्यक्ष संलग्न रहेकाहरुलाई जोगाएर सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेको रास्वपाको ठहर छ । 

शनिवार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोधकै लागि सरकारले आफ्ना सभापतिलाई हिरासतमा राखेको र अनुसन्धानको नाममा केवल थुन्ने नियत देखिएको निष्कर्ष निकालेको थियो । साथै मानसिक दबाब र त्रासमा राखेर रवि र रास्वपालाई कमजोर पार्ने षडयन्त्र देखिएको भन्दै राजनीतिक प्रतिशोध त्यागी रविको रिहाइ गर्न सरकारसँग माग गरेको थियो । रवि रिहा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने समेत रास्वापाले निर्णय गरेको छ । उसले आफ्नो आन्दोलन राजनीतिक प्रतिशोध, भ्रष्टाचार, बेथितिविरुद्ध तथा सहकारी पीडितहरुको ८८ अर्ब रुपैयाँ बचत फिर्ताका लागि रहेको दाबी गरेको छ ।

रास्वपासँगै पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि सडक आन्दोलनमा छ । यद्यपि उसले रवि पक्राउको विरोध या बचाउ केही पनि गरेको छैन । तर ठूला भ्रष्टाचारीलाई जोगाएर सानालाई मात्रै तर्साउने खेलमा सरकार लागिपरेको आरोप लाएको छ । शनिबार राजधानीमा खबरदारी सभा गर्दै माओवादीले भ्रष्ट, तस्कर, बिचौलिया र माफियाको संरक्षणमा सरकार लागिपरेको बतायो । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई थप बेथिति बढाउन नदिन, भ्रष्टाचारीलाई संरक्षण गर्न नदिन, संविधानको रक्षा गर्दै समृद्धिको पक्षमा काम गराउन आफूहरुले खबरदारी गरेको जिकिर गरे । उनले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको समेत बताए । 

यसैबीच,  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन विपक्षी दल माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । प्रचण्डलक्षित टिप्पणी गर्दै ओलीले आफूलाई हतियार बिसाउन लगाउने तरीका थाहा भएको बताएका छन् । शनिवार काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभामा प्रचण्डले आफूहरुले हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सेका छैनौँ भन्ने शब्दहरु प्रयोग गर्दै भाषण गरेका थिए । सोही कुराप्रति कटाक्ष गर्दै ओलीले हतियार कसरी बिसाउन लगाउने भन्ने कुराको राम्रो ज्ञान आफूलाई रहेको बताए । उनले धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह समेत गरे ।

यसरी, सत्तामा हुँदा राजनीति प्रतिशोध साँध्ने र सत्ताबाहिर हुँदा सरकारको विरोध गरिहाल्ने परिपाटी पछिल्लो समय नेपाली राजनीतिमा मौलाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update