काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित सरकारले सय दिनको ‘हनिमुन पिरियड’ पार गरिसकेको छ । तर सरकारले सन्तोषजनक कार्य गर्न नसकेको चर्चाहरु भइरहेका छन् ।
यसमा सरकार आफैँले ७० नम्बर प्राप्त गरेको जनाइसकेको छ । प्रधानमन्त्री ओलीको यही भनाइलाई मान्ने हो भने पनि वर्तमान सरकारले उत्कृष्ट कार्य गर्न सकिरहेको छैन । यो अवस्थामा प्रतिपक्षी दलहरुले सरकारको आलोचना र खबरदारी पनि गरिरहेका छन् ।
यो सँगै के माओवादी र रास्वपाले सडक आन्दोलन गरेर ओली नेतृत्वको सरकार ढाल्न लागेका हुन ? वा ओली सरकार ढल्दै छ ? भन्ने प्रश्न खडा गरेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने अहिले सरकार ढाल्ने कसरतमा आफूहरु नरहेको प्रष्ट पारेका छन्
्र
सरकारको जनविरोधी कदमबाविरुद्ध खबरदारी गर्ने क्रममै प्रचण्डले आफूहरु सरकार ढाल्ने र बनाउने मनशायमा नरहेको दावी गरेका हुन् । तर सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरु र सरकारकै मन्त्रीहरुको अभिव्यक्तिले भने गठबन्धमा समस्या उब्जिरहेको हुनसक्ने आशंका व्युँताएको छ ।
त्यस्तै सत्ता गठबन्धनकै बैठकमा पनि सरकार ढल्ने वा ढालिन लागेको विषयले प्रवेश पाइरहेको छ । जसलाई सरकारकै मन्त्रीहरुले समेत गठबन्धनको स्थायित्वबारे प्रष्टिकरण दिइरहेका छन् ।
यसले पनि सरकारको स्थायित्व र गठबन्धनको समझदारीमा संकट पैदा भइरहेको त हैन ? भन्ने प्रश्न खडा गरेको छ । हुनत पछिल्लो समय सत्ता गठबन्धनको उदेश्य र योजना पनि पूर्ण सार्थक भइरहेका छैनन् । सत्ता गठबन्धनले सुरुका दिनदेखि नै संविधान संशोधनको विषय उठान गरेको थियो । तर यसमा गठबन्धन सफल भएको छैन ।
त्यस्तै उसले उपसभामुख हटाउने तथा अध्यादेशमार्फत प्रतिपक्षी दल विभाजन गर्ने लगायतको योजना बुनेको थियो । तर यसमा पनि सत्ता गठबन्धन असफल भइसकेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारीबारे काँग्रेसले ओलीलाई सहयोग असहयोग गरेको थियो ।
यही असयोगका कारणबाटै गठबन्धनमा संकटको सुरुवात भएको हुनसक्ने अनुमान पनि गरिँदै आएको छ । सरकारको सय दिने कामप्रति कोइराला पक्षले पनि असन्तुष्टि जनाइरहेका छन् । तर काँग्रेसको मुल नेतृत्वले भने वर्तमान सरकार र सरकारको कामप्रति सन्तुष्ट रहेको उल्लेख गरिरहेको छ ।
काँग्रेसको यो अभिव्यक्तिले पनि तत्काल सरकार ढलिहाल्ने अवस्था देखिँदैन । प्रतिपक्षले सरकारविरोधी कार्यक्रमहरु गरिरहेको र काँग्रेस–एमालेबीच केही मुद्धामा विमत्ति देखिएपनि गठबन्धन तत्काल टुट्ने छैन ।
संसदीय अंक गणितले पनि प्रतिपक्षले चाहँदैमा यो सरकार ढाल्ने वा नढाल्ने विषयमा खासै अर्थ राख्दैन । किनकी काँग्रेस र एमाले मिलेसम्म शक्तिशाली सरकार कायम रहिरहने स्थिति छ । तसर्थ जबसम्म सत्तारुढ दल काँग्रेसले ओलीलाई साथ दिइरहन्छ । तबसम्म वर्तमान सरकार कायम रहने निश्चित छ ।