मुगु । कुनै समय मुगु जिल्ला सडक सञ्जालबाट टाढा थियो, त्यसैले यहाँका किसानहरु आफुले उत्पादन गर्ने रैथाने अन्नबालीलाई बजारसम्म पु¥याउने पहुँचबाट टाढै थिए । तर अहिले मुगु सडक सञ्जालसँग जोडिइ सकेको छ भने यहाँ उत्पादन हुने कागुनो, चिनो, कोदो र फापर जस्ता स्थानीय बालीनाली देशका विभिन्न बजारसम्म पुग्न थालेका छन् । माग बढ्दै गएपछि अहिले मुगुका किसानहरुले रैथाने अन्न बालीको खेतीपाती बढाएका छन् ।
मुगु जिल्लाको चारै स्थानीय तहमा रहेको खेतीयोग्य जमिनमा प्रशस्त मात्रामा कागुनो, चिनो र फापर उत्पादन हुन्छ । सडकमार्गसँग मुगु नजोडिदासम्म यहाँ उत्पादन हुने अन्नबालीले बजार पाउन सकेका थिएनन् । तर पछिल्लो समय सडक सञ्जालसँग मुगु जोडिएपछि जिल्लाका रैथाने बालीनालीले राम्रो बजार पाएका छन् ।
यहाँ उत्पादित कागुनो, फापर, कोदो, भटमास र चिनो लगायतका अन्न बालीको काठमाडौं, नेपालगन्ज, सुर्खेत , बिराटनगर, पोखरा लगायतका शहरहरुमा समेठ ठूलो माग रहेको छ । अहिले देशका नाम चलेका होटलदेखि मन्त्री, सांसद, उद्योगी व्यवसायीहरुको भान्सामा मुगुका अन्नबाली पाक्न थालेका छन् ।
कुनै समय यत्तिकै खेर गइरहेको बालीनाली बिक्रि हुन थालेपछि मुगुबासीको जीवनस्तर पनि सुधारिन थालेको छ । अन्नबाली बिक्रि गरेर आएको रकमले घर चलाउन र बालबालिकाहरुको पढाई खर्च चलाउन सहज भएको किसानहरु बताउँछन् ।
मुगुमा उत्पादन हुने बालीमध्ये कागुनोको माग सबैभन्दा बढि रहेको छ । रुखो र सिचाई सुविधा पनि नभएको स्थानमा फल्ने कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाई खान मिल्छ ।
कागुनो समुद्री सतहदेखि २ हजार मिटरमाथिको उचाइसम्म उत्पादन गर्न सकिन्छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने भएकाले पनि किसानलाई यसको खेती गर्न सहज मानिन्छ ।
स्थानीय उत्पादनको माग बढ्दै गएपछि स्थानीय सरकारले पनि यस्ता रैथाने बालीनाली संरक्षण र प्रवद्र्धन गर्ने नीति लिने भएको छ ।
यहाँ उत्पादित अन्नबालीले राम्रो मूल्यसहित बजार पाउन थालेपछि मुगु लगायत जुम्ला , हुम्ला, कालीकोट, डोल्पा लगायतका सडक सन्जाल जोडिएका जिल्लाहरुमा पनि रैथाने बालीनालीप्रति किसानहरुको रुची बढ्दै गएको छ ।
यहाँका स्थानीय उत्पादनको बजारीकरण र खेतीपातीका लागि आवश्यक प्रवन्धमा तीनै तहको सरकारले विशेष ध्यान दिन सकेमा यी हिमाली जिल्लाहरुलाई रैथाने अन्नबाली उत्पादनको पकेट क्षेत्रकै रुपमा विस्तार गर्न सकिन्छ ।