काठमाडौं । शनिबार विपक्षी दल नेकपा माओवादी केन्द्रले खबदारी सभा गरेपश्चात प्रधानमन्त्री केपी ओली माओवादीप्रति थप आक्रामक भएका छन् ।
माओवादीप्रति उनको आक्रोश बढ्दो छ । ओलीले प्रचण्डलाई कटाक्षपूर्ण जवाफ पनि फर्काएका छन् । यतिमात्रै होइन सरकारको नेतृत्व लिने विषयमा उनी फेरि कूटनीतिक ढंगले पुराना घाउ कोट्याउदै आफूलाई राष्ट्रवादी कित्तामा उभ्याएर शक्ति आर्जनको बाटो पहिल्याउन खोजिरहेका छन् ।
प्रतिनिधिसभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाएपनि सरकारको स्थिरतामा शंका छ । सरकार लामो समय नजाने हल्ला व्याप्त छन् ।
प्रभावकारी बन्न नसकेको सत्ता गठबन्धन पछिल्लो समय भने वक्तव्यदेखि सामूहिक निर्णयमा अघि बढ्न खोजेको छ । तर, सत्ताबाट प्रतिपक्षमा पुगेका प्रचण्डले आक्रामक शैलीमा सरकारविरुद्ध अभिव्यक्ति दिन थालेपछि प्रधानमन्त्री ओली पनि आक्रामक बन्न थालेका छन् ।
ओलीले प्रचण्डलाई चेतावनी दिदै बन्दुकको चेतावनी नदिन र हतियार कसरी बिसाउन लगाउने भन्ने कुरा आफुले जानेको भन्दै क्रोध पोखेका छन् ।
आक्रोश पोखिरहेका प्रधानमन्त्री ओलीले आफ्नो शाख घटेको भन्ने विषयमा समेत चित्त दुखाए । शाख घट्यो भन्नेहरुले ०८४ को निर्वाचन हेरुन भन्दै लोकप्रियता जाँचको चुनौति दिए ।
आक्रामक रुपमा एकपछि अर्को अभिव्यक्ति दिएका ओलीले आन्तरिक राजनीतिमा मात्रै नभई भारतले गरेको अघोषित नाकाबन्दीको समेत फेरि प्रसंग उठाए ।
पछिल्लो समय ओलीलाई सामाजिक सञ्जालमा अनफलो अभियान चलाएर कमजोर पार्ने काम गरिएको छ भने उनको पक्षमा पहिलेजस्तो जनमानसको प्रियता देखिन्न । यसबारे बुझेका ओलीले नाकाबन्दीमा खेलेको भूमिका स्मरण गर्दै फेरि आफूलाई राष्ट्रवादी कित्तामा उभ्याएर शक्ति आर्जन गर्नेतर्फ केन्द्रित बनाएको देखिन्छ ।
यता, विपक्षी दल नेकपा माओवादी केन्द्रको आक्रामकता पनि ओलीको भन्दा कम देखिन्न ।
सरकारसँग दुई तिहाई बढि बहुमत भएपनि प्रभावकारी बन्न नसकेको आरोप माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाइरहेका छन् । तर, अहिले नै सरकार ढाल्ने प्रयास नगर्ने भन्दै प्रचण्डले कांग्रेस एमालेसँगको सहकार्यलाई भ्रष्ट, जाली फटाहको संगतको संज्ञा दिएका छन् ।
ओली प्रचण्डबीच पछिल्लो समय विवाद चर्किदै गएको छ । ओली र प्रचण्डबीचको वाकयुद्ध चर्किदै गएको हुनाले पनि मुलुकको आन्तरिक राजनीति केहि गर्माएको देखिन्छ ।
ओलीको अर्को मूभ
प्रधानमन्त्री ओली संसदीय अंकगणितमा बलियो भएपनि सरकारको जग कमजोर भएकै कारण अलमलमा देखिन्छन् । लामो समयदेखि भारतले वास्ता नगरेपछि उनले उत्तरी छिमेकी चीन भ्रमण गरेर भारतलाई आफ्नो दम देखाउन चाहेका छन् । यसको तयारीस्वरुप ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को प्रगति विवरणसहितका विषय केलाउन थालेको चर्चा छ ।
चीन भ्रमण गरेर भारतलाई दबाब दिने रणनीति अख्तियार गरेका ओलीलाई भारतले नदिएको स्थान र कांग्रेसलाई चीनले नदिएको चासोलाई सम्बोधन गर्न ओलीले परराष्ट्र मन्त्रीलाई सक्रिय बनाएका छन् । जुन विषयले सत्ता गठबन्धन लामो समय पनि जाने र छिमेक सम्बन्धमा नयाँ आयाम थप्न सकिने अपेक्षामा ओली देखिन्छन् ।
यसैको सन्दर्भमा ओलीले भारतको अघोषित नाकाबन्दीको स्मरण र राष्ट्रवादको कार्ड फालेका छन् । यता, परराष्ट्रमन्त्री आरजु राणा देउवाले समेत चीनले भ्रमणमा बोलाए जाने अभिव्यक्ति दिइसकेकी छन् । यसले पनि प्रधानमन्त्री केपी ओलीले कूटनीतिक कदमलाई थप तिखार्न खोजेको देखिन्छ ।