काठमाडौं । विद्युत वक्यौता विवादमा सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाहीको बाटो खोजिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले कुलमानले फिरौति उठाउने शैली अपनाएको आरोप लगाइरहेका छन् ।
उसोतः कुलमानको निर्णय र अडानलाई प्राधिकरणका कर्मचारीले समेत समर्थन गर्दै बक्यौता उठाउने विषयमा डटेर सामना गर्ने बताएका छन् । यता, कुलमान भने विद्युत वक्यौता उठाउनै पर्ने अडानमा देखिन्छन् । सरकार भर्सेस कुलमान देखिएको यो अवस्थाले अब कुन रुप लिँदैछ त ?
सरकार विद्युत वक्यौता विवादमा रुमल्लिएको छ । सरकारले नेपाल विद्युत प्राधिकरणले उठाउन खोजिरहेको विद्युत बक्यौतामा उद्योगीको पक्षमा लाग्दा समस्या सिर्जना हुन थालेको हो । उद्योगीले सिधै सरकार, मन्त्री, संसदीय समिति र विभिन्न निकायमा पुगेर प्राधिकरणमाथि दबाब सिर्जना गरिरहेका छन् ।
यता, ऊर्जामन्त्री दिपक खड्का पनि व्यापारीको पक्षमा खुलेरै लागेका छन् । जसले गर्दा कुलमान कार्यकालको अन्तिमतिर तनावमा छन् । यद्यपी, कुलमान सरकारले लगाइरहेको आरोपलाई खण्डन गर्दै वक्यौता उठाएरै छाड्ने अडानमा छन् ।
कुलमानले विद्युत वक्यौतामा अडान लिएपछि व्यापारीहरुले ऊर्जामन्त्रालयमा निर्वाध ढंगले छलफल गरिरहेका छन् । प्रमाण देउ भन्दै प्राधिकरणमाथि हाबी हुन खोजेका व्यापारीलाई सरकारको समर्थन हुँदा समस्या देखिन्छ । जसको विरोध सत्तारुढ दल नेपाली कांग्रेसका केहि नेता र प्रतिपक्षीले कडा प्रतिवाद गरिरहेको देखिन्छ ।
कुलमानलाई कारबाही गर्ने तरखरमा रहेको सरकार यो विषयमा रक्षात्मक भने देखिन्छ । तर, ऊर्जामन्त्री खड्का भने १० मिनेटमै कारबाही गर्न सकिने भन्दै घुमाउरो शैलीमा चेतावनी दिइरहेका छन् । व्यापारीलाई मन्त्रालयमा राखेर मन्त्री खड्काले समस्या समाधान गर्ने आश्वासन दिएको बताइएको छ ।
उद्योगी व्यवसायीले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका छन् । तर, समस्या समाधान हुनेमा भने शंका छ । यता, कुलमान वक्यौता उठाउ व्यापारीको घरको विद्युत समेत काट्ने चेतावनी दिइरहेका छन् ।
वक्यौता उठाउनमा दृढ देखिएका कुलमान सरकारको चेपुवामा परेपनि कार्यकाल सकिन ९ महिना केहिदिन मात्रै बाँकी रहेकाले निर्णायक कदम चाल्ने मनस्थितिमा देखिन्छन् । कुलमानले झण्डै २ लाख बढि सर्वसाधारणको घरमा लाइन काटिने गरेको कुरालाई स्मरण गर्दै अब बक्यौता उठाउन नसके अर्थतन्त्रमा नै समस्या आउने चेतावनी समेत दिएका छन् ।
सरकारसँग प्रत्यक्ष सम्पर्कमा रहने व्यापारीहरुले मन्त्रीसँगको भेटपछि पत्रकार सम्मेलन गर्दै प्राधिकरण नेतृत्वलाई प्रमाण देखाउन चुनौति मात्रै दिएका छैनन्, ठगी मुद्दा चलाउन चेतावनी समेत दिएका छन् ।
प्राधिकरणको पक्षमा सर्वसाधारणको बलियो साथ रहेकाले पनि बक्यौता उठाउनुपर्ने दबाब सरकारमाथि छ । तर, दबाबका लागि आवश्यक शक्तिले सुसज्जित सरकारले कुलमानमाथि नजर लगाइरहेकाले वक्यौताको यस विवादले थप कुन रुप लिने हो अहिले नै स्थिति प्रष्ट भइसकेको भने देखिन्न ।